समाचार
अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको २ दिनपछि जीवितै उद्धार

काठमाडौँ, ३ असार । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा मकालु गाउँपालिकाको फ्याक्सिन्दामा शुक्रबार राती पुरिएका ४ जनाको आईतबार सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।
प्रदेश १ का प्रहरी प्रमुख डिआईजी केदार रिजालले संखुवासभामा रहेको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत चारजना कामदारलाई सकुशल उद्दार गरिएको जानकारी दिए । आइतबार बिहान पहिरो खस्न कम भएपछि सेना, सशस्त्र र प्रहरीको टोलीले उद्धार गरेको हो ।
घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दासहित ६ वटा स्काईभेटर र डोजर परिचालित भएका थिए । फ्याक्सिन्दामा निर्माणाधिन अरुण तेस्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो ।
सुरुङमा पुरिएर २ नेपाली र २ भारतीय कामदार बेपत्ता भएका हुन । सुरक्षाकर्मीले कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको उद्धार गरिएको हो ।


