समाचार

राईलाई मन्त्री बनाएपछि श्रेष्ठ असन्तुष्ट, भन्छन्–उपेन्द्रजीले धोका दिनुभो !

काठमाडौँ, १८ जेठ । यसअघि नै सरकारमा जाने निर्णय गरिसकेको संघीय समाजवादी फोरम अन्ततः शुक्रबार केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि भएको छ । पार्टीले जम्मा २ मन्त्री र एक राज्यमन्त्री पाउने हुँदा पनि आकांक्षी धेरै भएपछि फोरमलाई मन्त्री छान्न निकै समय लाग्यो ।

यद्यपी, अध्यक्ष उपेन्द्र यादवले सरकारका तर्फबाट पनि आवश्यक पहल नहुँदा ढिलाई भएको बताइरहे । केही दिन अघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र फोरमबीच दुई बुँदे सहमति भएपछि पार्टी सरकारमा त गयो तर, पार्टीभित्रको असन्तुष्टि भने कायमै छ ।

आफूलाई मन्त्री नबनाएको भन्दै सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ असन्तुष्ट बनेका छन् । विहीबारसम्म अध्यक्ष यादव सह–अध्यक्ष श्रेष्ठको नाम मन्त्रीका लागि चर्चामा थियो । तर, शुक्रबार अध्यक्ष यादव र बाँकेबाट निर्वाचित नेता मोहम्मद इस्तियाक राई सरकारमा सहभागि भए । यादवले स्वास्थ्य तथा जनसंख्या र राईले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाए । यसअघि यी मन्त्रालय प्रधानमन्त्री ओलीले आफैसँग राखेका थिए ।

राईलाई मन्त्री बनाएपछि श्रेष्ठले अध्यक्ष यादवले आफूलाई धोका दिएको आरोप लगाएका छन् । श्रेष्ठले आफू निकटका नेताहरुसँग भनेका भने, ‘उपेन्द्रजीले मलाई धोका दिनुभयो, हिजोसम्म मलाई नै मन्त्री बनाउँछु भन्नुभयो तर, आज आएर धोका दिनुभयो ।’ उपेन्द्रको यो कदमसँगै पार्टीभित्र राम्रो सन्देश नगएको पनि श्रेष्ठले बताएका छन् ।

गत फागुन तीन गते प्रधानमन्त्रीको सपथ लिएका ओलीले यसअघि २२ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए । संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सम्झौता गर्दै केन्द्रीय सरकारमा सहभागी भएको हो । फोरमको सत्तारोहणसँगै मन्त्रिपरिषद् २५ सदस्यीय हुने छ । २५ सदस्यीभन्दा ठूलो मन्त्रिपरिषद् बनाउने संविधानले बन्देज लगाएको छ । दैनिक नेपालबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *