समाचार
‘सुन तस्करीमा ठूला मान्छेको संलग्नता छ, मैले त निर्देशन मात्रै मानेको हुँ’

जेठ ८, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपछि गरिएको सामान्य सोधपुछबाट धेरै तथ्य फेला परेको छानबिन समितिले बताएको छ ।
स्रोतले दिएको जानकारी अनुसार सुन तस्करमा राजनीतिक दलका नेताहरुसमेत जोडिएका छन् ।
गोरेले दिएको प्रारम्भिक बयानमा दलका नेताहरुको नाम लिएको सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका सदस्यहरुले खुलासा गरेका हुन् ।
“सुन तस्करीमा धेरै ठूलाको संलग्नता छ, मैले त निर्देशन मात्रै मानेको हुँ ।” गोरेलाई उदृत गर्दै ति सदस्यले भने ।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले भने पक्राउपछि गोरेले सुन तस्कर काण्डबारे अन्य विवरण जानकारी दिएको बताए । तर गोरेले कसकसको नाम लिए भन्ने खुलाएनन् ।
“गोरेसँग सोधपुछ गर्ने क्रममा अन्य सुचनाहरु पनि प्राप्त भएका छन् । अहिलेसम्म पक्राउ गरिएकाबाहेक अरु व्यक्तिका बारेमा पनि अब गहन अनुसन्धान गर्छौँ ।” पौडेलले भने । “अन्य तथ्य र प्रमाणहरु पनि प्राप्त भएको छ । ति विषयमा पनि गहिराइका साथ अनुसन्धान गर्छौँ ।”
अनुसन्धान निकै जटिल र गम्भीर प्रकृतिको भएको भन्दै पौडेलले जेरी जस्तै सुन काण्ड जेलिएको बताएका थिए ।


