भारतीय नेताहरुको एक स्वर: ओलीको भारत भ्रमण सफल र फलदायी

अ+
अ
अ-

नयाँ दिल्ली, २५ चैत । भारतीय नेताहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने राजकीय भारत भ्रमण अत्यन्तै फलदायी र सफल भएको प्रतिक्रिया दिएका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले धमलासँगको कुराकानीमा भने, ‘ओलीजीको भ्रमण सफलभयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ । भ्रमण कोशेढुँगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु ।’

उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए । मन्त्री सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि झनै सहयोग बढाउने वचन दिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए । उनले नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्रीएवं सदाचारको धनी समेत रहेकाले एक–अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान ओलीको भ्रमणसँगै मार्ग प्रशस्त भएको स्पष्ट पारे ।

त्यस्तै नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे । भ्रमणको क्रममा ओलीको प्रस्तुति लोभलाग्दो भएको उनले जनाए ।

नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमा क्रान्ति गर्ने समेत उनको विश्वास थियो । प्रभुले भने, ‘नेपालले अब विकास गर्छ । आफू पर्यटनमन्त्री भएको नाताले नेपालको धार्मिक–पर्यटनको विकासमा सहयोग पुर्याउने पनि उनले प्रतिबद्धता जनाए । उनले नेपालमा वार्षिक १५ लाख भारतीय पर्यटकहरु पठाउने पनि बताए ।

कानून, न्याय, विद्युत तथा प्रविधिमन्त्री रविशंकर प्रसादले प्रधानमन्त्री ओलीको तीनदिने भ्रमण फलदायी भएको विश्वास दिलाए । उनले ओलीको भ्रमण नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई नयाँ आयाममा पुर्याउन कोशेढुँगा सावित भएको टिप्पणी गरे ।

भाजपाका महासचिव राम माधवले पनि ओलीको भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयामहरु थपिदिएको प्रतिक्रिया दिए । उनले भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमणमा जाने जनाउँदै भारतले चाँडोभन्दा चाँडो वीरगंज हुँदै काठमाडौंसम्म रेल पुर्याउने विश्वास दिलाए ।

त्यस्तै कंग्रेस आईका महासचिव द्धिगविजय सिंहले आफूहरुले पहिले पनि नेपालमा विकासको युगको सुरु हुनुपर्छ भनेको र अहिल ेपनित्यो चाहना यथावत रहेको सुनाए ।

उनले भने, ‘यसपटक मोदीजीले आफूलाई परिवर्तन गर्दै नेपाललाई सहयोग गर्छौं भन्नुभयो, हामी उहाँको प्रतिबद्धतामा समर्थन गर्छौं । नेपालका प्रधानमन्त्रीको भ्रमणबाट हामी खुशी छौं । ओलीजीसँग हाम्रो अध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भेट्नुभयो । हामी त उहाँको भ्रमणबाट निकै खुशी छौं ।’

भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको टिप्पणी गरे । उनले भने, ‘यो भ्रमणले नेपाल र नेपालीहरुको मात्रै होईन, भारतीयहरुको पनि मत जितेको छ, उहाँको भ्रमण सफल र फलदायी भएको छ ।’

तीन दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार (आज) साँझ स्वदेश फर्कदैछन् ।