समाचार
बाम एकताको फरक खाका : कहिले ओली त कहिले प्रचण्ड बरिष्ठ !

काठमाडौं, २६ चैत । दुई अध्यक्षात्मक प्रणाली स्वीकार गरी एकीकरणको अन्तिम चरणमा पुगेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको वरिष्ठता विवाद टुंगो लगाउने गरी एकता संयोजन समिति अन्तर्गतको कार्यदलले खाका तयार पारेको छ ।
एकीकृत पार्टीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष हुनेछन् । तर, औपचारिक बैठक, सभा वा सम्मेलनमा जसले अध्यक्षता गर्यो त्यसैलाई बरिष्ठ मानिने गरी कार्यदलले खाका तयार पारेको छ । यसबाहेक सांगठनिक र मार्गदर्शक सिद्धान्तका विषयमा पनि कार्यदलको खाका तयार भएको छ, जसलाई एकता संयोजन समितिमा अनुमोदनका लागि पठाउने तयारी गरिएको छ ।
एकीकरण भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ प्रस्ताव गर्दै अन्तरिम विधान तयार पारिएको छ । विधानमा एकता महाधिवेशनको घोषणा नभएसम्म दुई अध्यक्ष रहने र आलोपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ । यसले कुनै बेला एमाले अध्यक्ष ओली बरिष्ठ र कुनै बेला माओवादी अध्यक्ष प्रचण्ड बरिष्ठ बन्ने आधार तय भएको देखिन्छ ।
यो अन्तरिम विधानलाई दुवै पार्टीका अध्यक्षसहित बस्ने एकता संयोजन समितिको बैठकले चित्त बुझे सिधै र नबुझे परिमार्जनसहित पारित गर्न सक्नेछ ।
कार्यदलले पार्टी अध्यक्षलाई आठ वटा मुख्य जिम्मेबारी पनि प्रस्ताव गरेको छ । अन्तरिम विधानको धारा १८ मा रहेको केन्द्रीय कमिटी शीर्षकको बुँदा नम्बर ‘च’मा अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी बैठकको अध्यक्षता गर्ने, पार्टीका प्रमुख नेताको रूपमा समग्र पार्टीको नेतृत्व गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यदलले प्रस्ताव गरेको छ ।
नीति तथा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका निर्णयहरूको कार्यान्वयन गर्ने गराउने, पार्टी विधानको कार्यान्वयन गर्ने गराउने, केन्द्रीय कमिटीको तर्फबाट राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका काम अध्यक्षले गर्ने प्रस्ताव तयार पारिएको छ ।
यस्तै कार्यदलले १८ वर्ष पूरा भएको नेपाली नागरिक, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको, पार्टीबाट सञ्चालित आन्दोलन र कार्यक्रमहरूमा सहयोगी रहेको, पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तत्पर, उत्पादनमूलक श्रममा संलग्न हुन र सामाजिक आर्थिक रूपान्तरणमा क्रियाशील हुन तत्पर हुनुपर्ने पार्टी सदस्यको योग्यताको प्रस्ताव गरेको छ । सदस्यताका लागि वडा कमिटिले सिफारिस गरेपछि वैधता पाउने उल्लेख छ ।
गैरकम्युनिस्ट पार्टीबाट प्रवेश गरेका व्यक्तिलाई जिल्ला कमिटी वा प्रदेश कमिटी वा केन्द्रीय सङ्गठन विभागको सिफारिसमा केन्द्रीय कमिटीले सङ्गठित सदस्यता प्रदान गर्ने व्यवस्था गरिएको छ ।
माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेको कार्यदलले नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधान २०७५ तयार पारेको हो । कार्यदलमा एमाले नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, रघुवीर महासेठ र माओवादी केन्द्रबाट गिरिराजमणी पोखरेल, वर्षमान पुन, मातृका यादव र जनार्दन शर्मा सदस्य रहेका छन् ।

