प्रवासबिचार/ब्लगसमाचार

लोमश वाङ्मय प्रतिष्ठान’ को १५ सदस्यीय स्रष्टा टोली कालिका प्रस्थान 

 

जेठ २३, काठमाडौँ
भाषा, कला र साहित्यको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आएको लोमश वाङ्मय प्रतिष्ठान रसुवाको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक पक्षहरूको गहन अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ । हरेक महिनाको चौंथो शनिबार विशेष साहित्यिक गतिविधि गर्दै आएको प्रतिष्ठान कालिका गाउँपालिकाको औपचारिक निमन्त्रणामा यही जेठ २३, २४ र २५ गते सञ्चालन हुने तीनदिने साहित्यिक अनुष्ठानका लागि रसुवा प्रस्थान गरेको हो । स्थानीय स्तरका स्रष्टाहरूलाई राष्ट्रिय मूलधारमा समेट्ने स्थानीय पहिचानलाई उजागर गर्ने मूल ध्येयका साथ यो विचरण तय गरिएको हो ।

साहित्य, कला र पत्रकारिता क्षेत्रमा कार्यरत १५ जना लेखक तथा बहुआयामिक विषयमा विषयविज्ञहरूको सहभागिता रहेको छ । टोलीले स्थानीय परिवेशको प्रत्यक्ष अध्ययन गरी गाउँपालिकाका विभिन्न आयामहरूमाथि अनुसन्धानात्मक लेखहरू तयार पार्नेछ । लेखन कार्यलाई विषयगत रूपमा वर्गीकरण गरी लेखिएका सामग्रीहरुलाई पुस्तकको रुपमा प्रकाशित गरिने जानकारी समेत दिइएको छ ।

विषयविज्ञताको आधारमा प्रतीक घिमिरे, ममिला पौडेल ‘आस्था’, यमबहादुर जोती, दीपक भेटुवाल’दीपसागर’, राजेन्द्रमान डङ्गोल, गङ्गा खतिवडा, गोपालकृष्ण अधिकारी, डा.नवराज रिजाल, जयराम बिडारी, नवीन पल्लव, अमर कीर्तिमानी, अनुप खनाल, माधव घिमिरे ‘अटल’, केशरी अम्गाई, सावित्री पराजुलीले तोकिएको विषयमा आलेख तयार पार्ने छन् भने कालिकाको छविचित्र डीबी पराजुलीले बनाउने छन् । अनुसन्धानलाई तथ्यपरक, विश्वसनीय र जीवन्त बनाउन टोलीले रसुवाका स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा रैथाने विज्ञहरूसँग प्रत्यक्ष समन्वय र सहकार्य गर्नेछ ।

कार्यक्रम आयोजकका अनुसार स्थानीय जनप्रतिनिधि तथा सामाजिक जीवनमा सक्रिय व्यक्तित्वहरूको अनुभव र स्रष्टाहरूको प्राज्ञिक अनुसन्धानबाट प्राप्त निचोडलाई समेटेर एउटा विशेष पुस्तक तयार पारिनेछ । उक्त पुस्तकलाई स्थानीय सरकार (कालिका गाउँपालिका) को सहयोगमा प्रकाशन गरिने योजना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *