प्रवासबिचार/ब्लगसमाचार
कैदी–बन्दीका समस्या समाधानका लागि कानुनी पहल गर्ने सांसद भण्डारीको प्रतिबद्धता

चैत २१, शनिबार २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन कुमार भण्डारीले कारागारमा रहेका कैदी तथा बन्दीका समस्यालाई विधि र कानुनमार्फत समाधान गर्न पहल गर्ने बताउनुभएको छ।
शनिबार काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ घर भई काठमाडौं उपत्यकामा बसोबास गर्ने मतदाताहरूसँग आयोजित भेटघाट तथा छलफल कार्यक्रममा सांसद भण्डारीले यस्तो धारणा राख्नुभएको हो।
कार्यक्रममा उहाँले कैदी तथा बन्दीहरूले श्रममार्फत कैद अवधि कटाउन पाउने व्यवस्था सम्बन्धी कानुनी प्रबन्धका बारेमा अध्ययन गर्ने र त्यसको कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सांसद भण्डारीले भन्नुभयो, “हामी संसदमा गएर सिक्दै काम गर्नेछौं। तपाईंहरूजस्ता मतदाताले दिनुभएको सुझावलाई मध्यनजर गर्दै नीति तथा विधि निर्माण गर्नु हाम्रो पहिलो कर्तव्य हो। हामीबाट भएका कमजोरी जनस्तरबाट स्मरण गराइदिनुहोला। म सधैं जनताको पक्षमा काम गर्नेछु।”
उहाँले श्रमकैदको विषय अत्यन्त संवेदनशील भएको उल्लेख गर्दै यो अन्तर्राष्ट्रिय अभ्याससमेत भएकाले नेपालमा यसको कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।
#badanbhandari
