समाचार
सहकारी मुद्दामा थुनामा रहेका रवि लामिछाने धरौटीमा रिहा

पुस ४ शुक्रबार ,२०८२
काठमाडौ । सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलास (रुपन्देही) ले बिहीबार उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार तोकिएको धरौटी रकम बुझाएपछि लामिछाने कारागारबाट रिहा भएका हुन्।
यसअघि जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि भन्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए।
उच्च अदालतले मुद्दाको प्रारम्भिक अवस्था, प्रस्तुत प्रमाण तथा प्रतिवादीको हैसियतलाई मध्यनजर गर्दै धरौटीमा रिहा गर्न उपयुक्त ठहर गरेको हो।
रिहा भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै लामिछानेले आफू न्यायालयप्रति विश्वस्त रहेको र कानुनी प्रक्रियाबाट सत्य बाहिर आउने विश्वास व्यक्त गरे। उनले सहकारी पीडितको न्यायका लागि आफू सधैँ साथमा रहने पनि बताए।
उक्त मुद्दालाई लिएर राजनीतिक वृत्तमा चर्को बहस भइरहेको छ भने रास्वपाले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै आएको छ। अदालतको पछिल्लो आदेशपछि राजनीतिक र कानुनी क्षेत्रको ध्यान पुनः केन्द्रित भएको छ।
मुद्दाको थप सुनुवाइ आगामी दिनमा हुने बताइएको छ।
