समाचार

पर्यटक पथप्रदर्शकहरूको पुनर्ताजगी तालिम समापन।

– माधव घिमिरे ‘अटल”

काठमाडौ । टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल(टुर्गान) द्वारा आयोजित पथप्रदर्शकहरूका लागि पाँच दिने पुनर्ताजगी तालिम राजधानीको कालधारामा अवस्थित होटल जी रामायणामा समापन भएको छ ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल)ले यो क्षेत्र अलिक बौद्धिक र नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण एवम् संवेदनशील पनि भएको बताउनु भयो । पर्यटक गाइडले अलिक भिन्न तथा सिर्जनात्मक तरिकाले प्रस्तुत हुनुपर्ने खाँचो रहेको सापकोटाको कथन थियो । संस्कृति र प्रकृतिको क्षेत्रमा नेपाल धनी भएकैले यसबारेमा सही व्याख्या र विश्लेषण वस्तुपरक ढङ्गबाट गरिनु जरूरी भएको उहाँको जिकिर थियो । व्यवसायी र गाइडहरूबीच सुमधुर सम्बन्ध कायम हुनु जरूरी भएको भन्दै गाइडहरूले एकअर्काबीच कसरी सहकार्य गर्नुपर्छ र सकिन्छ भन्ने छलफल गरेको उहाँकोआकलन थियो । नेपाल पर्यटकहरूका निम्ति अत्यन्त सुरक्षित ठाउँ हो भन्ने कुरा त जनयुद्ध र निषेधाज्ञाका समयमा पाएको पर्यटकको सुरक्षाले पनि पुष्टि गर्छ भन्दै सेप्टेम्बरका केही बुकिङ क्यान्सिल गरे पनि जेन-जी आन्दोलनकै कारण अन्य ठुलो असर भने नपरेको उहाँको ठहर थियो ।

पर्यटन बोर्डका सदस्य तथा टुर्गानका पूर्व अध्यक्ष नरेन्द्रदेव भट्टले अहिले पर्यटकको चासोको क्षेत्र इतिहास मात्र नभई राजदरबार हत्याकाण्ड जस्तो कथा भएको भन्दै खाली प्राविधिक कुरा पर्याप्त नहुने दाबी गर्नुभयो । उहाँले गाइडलाई राजदूत र गाडीलाई मेरुदण्ड मानिने भएकाले सबैभन्दा जिम्मेवार उहाँहरू हुनुपर्ने भट्टको तर्क थियो ।

नेपाल पर्यटन बोर्डका सदस्य ऋषि भण्डारीले टुर गाइडहरू नेपालको पर्यटनमा महत्त्वपूर्ण व्यक्तित्व भएको राय पेस गर्दै तालिम एउटा अविस्मरणीय क्षण बनोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

नाथमका विभागीय प्रमुख अजय ढकालले यो परिस्थितिमा यसरी व्यवस्थित तालिम सम्पन्न हुनु बडो हर्षको विषय भन्दै तालिम लिने सबै नाथमबाटै तालिम गरी यहाँसम्म आएको जिकिर गर्नुभयो ।
दिगो विकास पर्यटन परियोजना (एसटीपी)का कार्यवाहक प्रबन्धक धर्म दवाडीले ‘दिगो पर्यटन परियोजना’ले कसरी उद्यमशीलता र सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्ने भन्ने योजना अन्तर्गत यो कार्यक्रम तय भएको अवगत गराउनुभयो । उहाँले तालिम कसरी प्रदान गर्ने र पहिल्यै तालिम प्राप्तहरूलाई कसरी पुनर्ताजगी तालिम कसरी सुनिश्चित गर्ने भन्ने आफूहरूको ध्येय भएको प्रस्ट्याउनुभयो ।

टुर्गानका अध्यक्ष थानेश्वर देवकोटाले सम्पूर्ण पथप्रदर्शकहरूप्रति आभार प्रकट गर्दै मूर्त आँकडा नराखीकनै पछिल्लो समय उत्पन्न परिस्थितिले पर्यटन क्षेत्रलाई निकै प्रभाव पारेको दाबी गर्नुभयो । नेपालबारेका नकारात्मक प्रभाव सबैले मिलेर चिर्नुपर्ने उहाँको अभिमत थियो । उहाँले नेपाल पर्यटन बोर्डले पहिलो पटक टुर्गानकै नाममा बजेट विनियोजन गरेकामा बोर्डलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा हानका महासचिव साजन शाक्य, टुर्गानका पूर्व अध्यक्ष बद्री नेपाल, नेपाल पर्यटन विकास व्यवसायी संस्थाका अध्यक्ष अच्युत सिग्देल, सोसाइटी अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष कुमार पराजुली, प्रशिक्षकहरू डा. निर्मला पोखरेल, डा.सोमप्रसाद खतिवडा लगायतका व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।

टुर्गानका महासचिव टङ्कप्रसाद दुवाडीले सहजीकरण गरेको उक्त समारोहको समापन कार्यक्रमका अध्यक्ष तथा टुर्गानका अध्यक्ष देवकोटाले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *