समाचार
महरा काण्ड पछि सभामुख कसलाई बनाउने भन्ने अझै टुंगो लागेन
काठमाडौं । प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले अझै निर्णाय लिन सकेको छैन।शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन। यो खबर आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन्। तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा मुछिएदेखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुँदा पनि निष्कर्षमा पुग्न सकेको छैन । तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे।
सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन।बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सभामुखमा सरकारलाई सहयोग गर्नेगरी नेम्वाङलाई सभामुख बनाउनुपर्ने तर्क राख्दै आएका छन् भने अर्का अध्यक्ष दाहालले पूर्वमाओवादीको भागमा सभामुख परेको स्मरण गराउँदै स्थायी कमिटी सदस्य सापकोटालाई सभामुख बनाउन लबिङ गरेका छन्। यसअघि पनि पूर्वमाओवादीको भागमा परेकाले अबको सभामुख पूर्वमाओवादीबाट बनाउने विषयमा प्रधानमन्त्रीले सकारात्मक देखिएको पूर्वमाओवादी निकट एक नेताले बताए।तर पनि प्रधानमन्त्रीले सरकारलाई सहयोग गर्ने व्यक्तिलाई सभामुख बनाउनुपर्ने तर्क अर्का अध्यक्ष दाहाललाई बताउँदै आएका छन्।
सभामुखमा दुई नेताको सम्भावनको विषयमा बहस हुन थाले पनि नेम्वाङले अध्यक्ष दाहालसँग समेत भेट गरी आफू प्रधानमन्त्रीले विश्वास गरेको पात्र र पहिलादेखि नै सरकारलाई सहयोग पु¥याएको व्यक्ति भएकाले पार्टीको तर्फबाट निर्णय लिँदा सोचपूर्ण रूपमा हुनुपर्ने बताएका छन्।उनले अध्यक्ष दाहाललाई पार्टी एकतापछि ‘यसको र उसको भन्नेभन्दा पनि नेकपाको सक्षम व्यक्ति सभामुख बन्यो’ भन्ने सन्देश दिन आग्रहसमेत गरेको स्रोतको दाबी छ। सत्तारूढ दल नेकपा तत्कालीन एमाले र माओवादी केन्द्रको नयाँ रूप हो । दुई दल एक बन्दा केही सौदाबाजी भएका थिए । त्यसमध्ये एउटा सभामुख पद हो। जुन शक्ति सन्तुलन मिलाउने क्रममा तत्कालीन माओवादीका भागमा परेको थियो।
त्यसैले नयाँ सभामुख चयन पूर्वमाओवादी नेताहरूमध्येबाटै हुनुपर्ने दबाब नेकपामा तीव्र छ । पार्टी एक हुनुअघिको भागबन्डाअनुसार सभामुख पद नछाड्न पूर्वमाओवादी नेताले अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन्।यस्तै, पूर्वमाओवादीका प्रभावशाली नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवले उनीसँग भेटेर यसबारे आफ्नो मत राखेका छन्।
दाहालसँग भेटेर सभामुख नछाड्न लबिङ गर्नेमध्ये तीन नेता अग्नि सापकोटा र पम्फा भुसाल स्वयं सभामुखका आकांक्षी पनि हुन्।
पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको कामले पूर्णता नपाइसकेकाले आगामी महाधिवेशनसम्म तत्कालीन पार्टीबीच भएको भागबन्डा यथावत् राख्न उनीहरूले सुझाएका छन् । उनीहरूको सुझाव कार्यान्वयन भयो भने सापकोटा सभामुखका रूपमा देखिनेछन्।




