समाचार

सुकुटे बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन सभापति देउवाको आग्रह

काभ्रेपलाञ्चोक, १८ कात्तिक :नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।उहाँले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गर्नुभयो । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।

सो अस्पतालमा सुकुटे दुर्घटनाका करिब ४० जना घाइते उपचाररत छन् । सभापति देउवासँगै पूर्वमन्त्री एवं काङ्ग्रेसका नेता मोहनबहादुर बस्नेतलगायत स्थानीय नेताहरु अस्पताल पुग्नुभएको थियो ।अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने दर्जनौँ यात्रु घाइते भएका थिए । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खस्दा उक्त दुर्घटना भएको थियो । (रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *