समाचार

साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्याँकन हुने परिपाटीको अन्त्य हुनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौ–प्रधानमन्त्री केपी शर्मा ओलीले साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्याँकन हुने परिपाटी रहन नहुनेमा जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हिजो सिंहदरबारमा सुरु भएको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा निर्देशन–मन्तव्य व्यक्त गर्ने क्रममा उनले आज उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गएको वर्ष शासकीय सुधार, कानुनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएर विकास, निर्माणको आधार तयार भएको र आर्थिक वृद्धि दर ऐतिहासिक रुपमा बढेको बताउँदै भने, ‘अब वितेको वर्षका कमीकमजोरीबाट समेत पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नुपर्दछ ।’

सरकारले हाल विकसित गरेको अनुगमन प्रणालीले कामको गति बढाउन मद्दत गर्ने धारणा व्यक्त गर्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा साउन १ गतेदेखि पुरानो र सुस्त गतिलाई त्यागेर प्रभावकारी रुपमा काम अघि बढाइएको देख्न पाइने विश्वास व्यक्त गरे ।  सरकारका विभिन्न मन्त्रालयहरुबीच प्रभावकारी समन्वय हुनु पर्ने कुरामा जोड दिंदै प्रधानमन्त्रीले भने, ‘बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनुपर्दछ ।’

सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै प्रधानमन्त्रीले रिर्पोटहरुलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरे । उनले भने, ‘रिर्पोट सुनेर वास्तविकता के छ पत्ता लगाउनोस, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन हेर्नोस् ।’

जनताको काममा ढिलासुस्ति हुनै नहुने बताउँदै उनले भने, ‘लोकतन्त्र विकास र जनताले पाउने सुविधा प्राप्त गराउने व्यवस्था हो । तजविजी अधिकार प्रयोग गर्दै ढिलासुस्ती गरे पनि हुने व्यवस्था होइन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *