समाचार

मानव बेचबिखन र करोडौं ठगी गर्ने गुरुङ नेपाल ल्याइए, ७ जना अझै फरार

काठमाडौं । थाइल्याण्डमा बसेर मानव बेचबिखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले परशुराम गुरुङलाई सार्वजनिक गरे पनि अन्य सात जनाको बारेमा प्रहरीले खोजी गरिरहेको छ। नेपाली नागरिकलाई थाइल्याण्डमा बसेर करोडौं ठगी गरेको आरोपमा प्रहरीको अन्र्तराष्ट्रिय संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेका गुरुङलाई थाइल्याण्डस्थित नेपाली दूतावासको सहयोगमा थाइ प्रहरीले चैतमा पक्राउ गरेको थियो। कानुनी प्रक्रिया पूरा गरेर उनलाई शुक्रबार साँझ नेपाल ल्याइएको हो।

मानव बेचविखनकै आरोपमा उनीसँगै इन्टरपोलले किशोर राई, ओमप्रकाश गुरुङ, दुर्गा निरौला, सोमनाथ निरौला, अजन्ता तुलाधर निरौला, विनोद पाण्डे र सञ्जिव मुडभरीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। उनीहरु कहाँ छन् भन्ने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन। शनिबार सिआइबी प्रमुख डिआइजी निरजबहादुर शाहीले अरुको खोजी भइरहेको बताए। ‘परशुरामलाई ल्याइएको छ अन्यको खोजी गरिरहेका छौं,’ डिआइजी शाहीले भने। सीआइबीका अनुसार ३८ वर्षे गुरुङले कमल, पारस, मनोज, किम, अधिराजलगायतका नाममा ठगी गर्थे। याे खबर आजकाे नागरिक दैनिकमा छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *