समाचार

हत्याकाण्डमा भागेर बाँचेकी सिता मानसिक रुपमा विक्षिप्त

हत्याकाण्डमा बाँच्न सफल १२ वर्षीया सीता खजुमको दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। उनलाई मंगलबार अपराह्न अस्पतालमा ल्याइएको थियो। सीताको हात भाँच्चिएको छ।bप्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार सीताले घटनाबाट बच्न भाग्ने क्रममा ठोक्किएर हात भाँच्चिएको बताएकी छन्। उनी मानसिक रुपमा विक्षिप्त छिन्। शरीरका अन्य कुनै पनि भागमा चोट नरहेको प्रहरीले जनाएको छ।

चिकित्सक र सुरक्षाकर्मीले उनलाई भेट्न कडाइ गरेका छन्। उनी आत्तिएको अवस्थामा रहे पनि शारीरिक रुपमा भने खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

घटनामा भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमले घटनामा मुकुन्डोधारी व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गराएको बयान प्रहरीलाई दिएकी छन् । उनको हात भाँचिएको छ । उनी भागेर मकैबारीमा पुगेपछि बाँच्न सफल भएको प्रहरीले बताएको हो ।

राति गहिरो निद्रामा परेका बमबहादुरका परिवारका अन्य सदस्यमाथि मास्क लगाएका व्यक्तिले खुकुरी बर्साएको देखेपछि आत्तिएकी १३ वर्षीया सीता खजुमले भागेर ज्यान बनाउन सफल भएकी हुन् । घरमा सुतिरहेका अन्य सदस्यको अनुहार र घाँटीमा खुकुरी बर्साएको देखेपछि आत्तिएकी उनी अध्याँरैमा भागेकी थिइन् । तर घरबाट ज्यान बचाउन भागेकी उनलाई पनि मास्क लगाएका हत्याराले लखेटेका थिए ।

स्थानीयबासी जयकुमार ढकालका अनुसार मध्यराति भएको यो घटनापछि भागेकी सीताले स्थानीय सुनकाजीको घरमा लुकेर ज्यान बचाएकी थिइन्। ‘मास्क लगाएका व्यक्तिले खुकुरीले काट्दै गरेको देखेपछि आत्तिएँ। म उठेको देखेपछि मलाई पनि काट्न झम्टिए’, सीताको भनाइ उधृत गर्दै ढकालले भने, ‘घरबाट निस्केर भागेपछि मकै बारीतिर कुँदे, तैपनि मलाई मास्क लगाएका ती मान्छेले लखेटिरहे। तर ओरालोमा छिटो छिटो दौडिन सकेकाले मलाई नभेटेपछि ज्यान बचाउन सफल भएँ।’

बमबहादुरका परिवारमाथि खुकुरी बर्साउने एकजनालाई मात्रै आफूले देखेको जानकारी सीताले स्थानीयलाई दिएकी छन् । ‘मैले खुकुरी बोकेका एकजनालाई मात्रै देखेँ, उनले मास्कले अनुहार छोपेका थिए’, सीताले स्थानीयसँग भनेकी थिइन्, ‘मलाई पनि तिनैले लखेटेका थिए, तर गाउँकै एक घरमा लुकेर ज्यान बचाएँ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *