दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपिएल सम्पन्न,सुदूरपश्चिम पहिलोपटक उपाधि उचाल्दै

एनपिएलको उपाधि जितेपछि खुसी साट्दै सुदूरपश्चिम रोयल्सका खेलाडी काठमाडौँ, ५ मङ्सिर : कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न तेस्रो संस्करणको ‘नेपाल प्रिमियर लिग (एनपिएल)’ को उपाधि जितेपछि खुसी साट्दै सुदूरपश्चिम रोयल्सका खेलाडी । तस्बिर : घनश्याम श्रेष्ठ/रासस
अ+
अ
अ-

चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको रोमाञ्चक प्रतिस्पर्धा र दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण (सिजन-३) को उपाधि सुदूरपश्चिम रोयल्सले आफ्नो नाममा दर्ता गराउँदै प्रतियोगिता सम्पन्न भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा लुम्बिनी लायन्सलाई पराजित गर्दै च्याम्पियन बनेको सुदूरपश्चिमले एनपिएलमा पहिलोपटक उपाधि उचाल्दै आफ्नो नाममा सफलता हात पार्न सफल भएको हो ।

लगातार पहिलो र दोस्रो संस्करणको एनपिएलमा फाइनलमा पुग्दै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले यसपटक भने नयाँ इतिहास कायम गर्‍यो । दोस्रो संस्करणको एनपिएलमा लुम्बिीनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो । गत कात्तिक ९ गतेदेखि सुरुआत भएको तेस्रो संस्करणको एनपिएलमा सुदूरपश्चिम विजेता बनेको छ । यसअघि भएको पहिलो संस्करणमा जनकपुर बोल्टल्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।

लिगचरणमा सुदूरपश्चिमको यात्रा भने निकै सङ्घर्षपूर्ण रह्यो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले पोखरालाई हराउँदै खेलमा पुनरागमन गरेको थियो । त्यसपछि तेस्रो खेलमा विराटनगरसँग पराजित भए पनि चितवन, कर्णाली, जनकपुर र काठमाडौँलाई लगातार हराउँदै लिग चरणमा दोस्रो स्थान हासिल गर्‍यो । सुदूरपश्चिमले लिग चरणमा १० अङ्क बटुलेको थियो ।

त्यसपछि पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्नुपरेको थियो । चितवनलाई हराउँदै सुदूरपश्चिमले फाइनल यात्रा तय गर्न सफल भयो । यसरी सुदूरपश्चिमले लगातार दुई खेल जित्दै लगातार तेस्रोपटक उपाधि भिडन्तसम्मको यात्रा तय गर्न सफल भएको थियो । त्यसो त लुम्बिनीले प्रतियोगिताको सुरुआतदेखि नै राम्रो खेल प्रदर्शन गर्दै आएको थियो । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको लुम्बिनीको दोस्रो खेल चितवन राइनोजसँग वर्षाका कारण रद्द भएको थियो ।

त्यसैगरी, पोखरा र जनकपुरलाई हराएको लुम्बिनी पाँचौँ खेलमा काठमाडौँसँग पराजित भएको थियो । त्यसपछि कर्णाली र विराटनगरलाई हराउँदै लिग चरणको शीर्ष स्थानमा रह्यो । लिग चरणमा लुम्बिनीले ११ अङ्क बटुलेको थियो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्‍यो । यससँगै टोलीले सिधैँ फाइनलमा स्थान बनाएको थियो ।

सुदूरपश्चिम रोयल्सको शानदार जित

आजको फाइनल खेलमा जर्ज मन्सीको आक्रामक शतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्समाथि १० विकेटको शानदार जित निकालेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पच्छाएको सुदुरपश्चिमले १३ दशमलव ३ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितका नायक बनेका मन्सीले अविजित १२५ रनको विस्फोटक इनिङ्स खेले । उनले मात्र ५४ बलमा ८ चौका र १२ छक्का प्रहार गर्दै १२५ रनको योगदान दिएका हुन् । उनको ब्याटिङले लुम्बिनीका बलरलाई सुरुदेखि नै दबाबमा राखेको थियो ।

मन्सीलाई साथ दिएका विनोद भण्डारीले पनि अविजित ३० रन बनाए । उनले २७ बलमा ३ चौका प्रहार गर्दै ३० रन जोेडेका हुन । दुवै ब्याटरबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो । मन्सीले २८ बलमा अर्धशतक पूरा गरेका थिए भने ४९ बलमै शतक प्रहार गर्दै आफ्नो आक्रामक लय देखाए । सुदूरपश्चिमले पावरप्लेमा मात्रै ६० रन जोडेको थियो । त्यसपछि पनि लुम्बिनीका बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनको योगफल बनाएको थियो । लुम्बिनीका लागि दिलीप नाथले अविजित ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । त्यसैगरी कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन जोड्दा निरोशन डिक्वेलाले १७ बलमा २८ रन बनाए । अलि शेखले १२ बलमा २४ रन जोड्दा डी’आर्सी शर्टले १८ बलमा २१ रनको योगदान दिए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले २५ रन खर्चेर २ विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पार । विभिन्न आठ टोली सहभागी यस प्रतियोगितामा काठमाडौँ गोर्खाज सात खेलमा चार जित र तीन हारसहित आठ अङ्क जोड्दै तेस्रो स्थानमा रह्यो । यता चितवन राइनोज तीन जित, तीन हार र एक खेलमा बराबरीसहित चौथो स्थानमा रह्यो । चितवनले सात अङ्क जोडेको थियो ।

त्यसैगरी विराटनगर किङ्स पाँचौँ र कर्णाली याक्स छैटौँ स्थानमा रहे । दुवै टोलीले समान सात खेलबाट तीन जित र चार हारसहित समान छ अङ्क जोडका थिए । नेट रनरेटका आधारमा विराटनगरले कर्णालीलाई पछि पारेको हो । पोखरा एभेन्जर्स दुई जित र पाँच हारसहित चार अङ्क जोडेर सातौँ स्थानमा रह्यो । त्यस्तै, पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्स पनि दुई जित र पाँच हारसहित समान चार अङ्क जोड्दै अन्तिम स्थानमा सीमित भयो । नेट रनरेटमा भने पोखरा जनकपुरभन्दा अगाडि रह्यो ।
—