नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु, वैचारिक स्पष्टता र संगठनात्मक सुदृढीकरणमा जोड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। बैठकमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण, आर्थिक आत्मनिर्भरता र जनविश्वास पुनःस्थापित गर्ने विषयलाई प्रमुख प्राथमिकताका रूपमा अघि सारिएको छ।
बैठकको पहिलो सत्रमा पार्टीका संयोजक लोकनारायण सुवेदीले वर्तमान राजनीतिक परिस्थिति, पार्टीको राजनीतिक कार्यदिशा र आगामी कार्यभार समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। त्यसैगरी संगठन विभाग प्रमुख लक्ष्मण उप्रेतीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका छन्।
कानुन तथा न्यायिक विभाग प्रमुख वरिष्ठ अधिवक्ता दण्डपाणी पौडेलले पार्टीका सामु देखिएका संवैधानिक जटिलताबारे धारणा राखेका थिए। पार्टीको आत्मनिर्भरता र उत्पादनसम्बन्धी कार्यक्रमका विषयमा केन्द्रीय कार्यसम्पादन समिति सदस्य बीके अर्याल, बुद्धिजीवी संगठनका विषयमा महादीप पोखरेल तथा प्रचार–प्रकाशनसम्बन्धी विषयमा भूमिनन्द देवकोटाले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
यस्तै प्रदेश प्रमुखहरुकाे तर्फबाट युवराज नास्तिकले हाम्रो पार्टीमा जनता गाेलबद्द हुनु पर्ने नीतिमा प्रस्ट पार्नु पर्ने, यश पार्टीले गर्ने र गरेका कार्य ,लक्ष्य र उदेश्यकाे बारे धारणा राखेका थिए।
बैठकमा पार्टीको निर्देशन समितिका संयोजक अम्बिका प्रसाद थैवले पार्टीको ऐतिहासिक विरासत, वैचारिक प्रतिबद्धता र भावी कार्यभारबारे धारणा राखेका थिए। उनले नेपाल कम्युनिष्ट पार्टी कमरेड पुष्पलालले स्थापना गरेको पार्टी भएको स्मरण गराउँदै उहाँले प्रतिपादन गरेका नीति, सिद्धान्त र कार्यक्रमलाई समयानुकूल परिष्कृत गर्दै नयाँ जनवादी क्रान्तिको बाटोबाट समाजवाद स्थापना गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने बताए।
त्यसका लागि त्याग, तपस्या र बलिदानीपूर्ण संघर्षको आवश्यकता औँल्याउँदै उनले पार्टीले आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न सके कम्युनिष्ट आन्दोलनले गुमाएको प्रतिष्ठा र जनविश्वास पुनःस्थापित हुने विश्वास व्यक्त गरे।
राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूको सुझाव
बैठकको दोस्रो सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रदेश प्रमुखहरू रामदुलार महतो, युवराज नास्तिक, परसु कोइराला र मुकुन्द आचार्यलगायत केन्द्रीय सदस्यहरूले सुझाव तथा धारणा राखेका थिए।
छलफलमा महेन्द्र जोशी, नागेन्द्र यादव, राजन शाह, ठाकुर खपांगी, नरेशलाल अमात्य, मणिन्द्रलाल कर्ण, सीता सुवेदी, पवित्रा थैव, भरत मल्ल, परसुराम प्याकुरेल, गणेश ज्ञवाली, लक्ष्मण गौतम, अनन्त धिताल, रामलाल महर्जन र भरत साहलगायतले पनि भाग लिएका थिए।
उनीहरूले राजनीतिक प्रतिवेदनमा समेटिएका विषय, पार्टीको भावी राजनीतिक दिशा, संगठनात्मक अवस्था तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन अपनाउनुपर्ने उपायबारे आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए।
अच्युतराज ज्ञवालीको एकताबद्ध कम्युनिष्ट पार्टी निर्माणमा जोड
बैठकमा वयोवृद्ध कम्युनिष्ट नेता अच्युतराज ज्ञवालीको उपस्थिति पनि विशेष चासोको विषय बनेको थियो। उनले विभिन्न गुट तथा उपगुटमा विभाजित रहेका सही कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गर्दै श्रमजीवी, पीडित र सीमान्तकृत जनताको विश्वास र भरोसाको पार्टी निर्माण गर्नुपर्ने बताए।
यस अभियानमा आफू पनि सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्दै उनले बैठकको सफलताको कामना गरेका थिए। उनको भनाइले कम्युनिष्ट आन्दोलनमा एकताको आवश्यकता र त्यसप्रतिको ऐतिहासिक दायित्वलाई पुनः उजागर गरेको छ।
पार्टी एकीकरणलाई पूर्णता दिने तयारी
बैठकले यसअघि सुरु भएका पार्टी एकीकरणका प्रक्रियालाई निर्धारित समयभित्र पूर्णता दिने विषयलाई प्राथमिकता दिएको छ। साथै वैचारिक स्पष्टता, संगठनात्मक सुदृढीकरण, आर्थिक आत्मनिर्भरता, उत्पादनसँग पार्टीको सम्बन्ध विस्तार तथा जनतासँगको जीवन्त सम्बन्ध स्थापित गर्ने विषयमा ठोस कार्ययोजना निर्माण गर्ने गरी छलफल अघि बढाएको छ।
बैठकमा पार्टीले विगतको राजनीतिक विरासतमा मात्र निर्भर नभई वर्तमान समयका जनताका वास्तविक समस्या र आवश्यकतासँग जोडिनुपर्ने विषयमा पनि जोड दिइएको छ। विचार, संगठन, नेतृत्व, उत्पादन र आर्थिक आत्मनिर्भरताबीच समन्वय कायम गर्दै जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित हुनुपर्ने धारणा बैठकमा प्रस्तुत भएको छ।
कमरेड पुष्पलालले स्थापना गरेको पार्टीको ऐतिहासिक विरासतलाई आत्मसात् गर्दै वर्तमान राजनीतिक चुनौतीको सामना गर्न सक्ने, श्रमजीवी जनताको विश्वास जित्न सक्ने र समाज रूपान्तरणमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने पार्टी निर्माणलाई बैठकले मुख्य कार्यभारका रूपमा अघि सारेको छ।
नेपाल कम्युनिष्ट पार्टीले एकता, संघर्ष र आत्मनिर्भरताको आधारमा आफ्नो संगठनात्मक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित केन्द्रीय समितिको बैठक अघि बढाएको जनाएको छ।


