घरेलु कामदार र तिनका सन्तानकाे हकहित माथि बहस सुरु

अ+
अ
अ-

काठमाडौँ । प्रतिबन्धित मुलुकमा अवैध रूपमा पुगेका नेपाली घरेलु महिला कामदारमाथि हुने हिंसा र उनीहरूका सन्तानको नागरिकता समस्याबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले विदेशमा पीडित महिलाको उद्धार, सुरक्षा र उनीहरूका सन्तानको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद यसुदाकुमारी बरालले प्रतिबन्धित मुलुकमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिला बेचबिखन, यौन शोषण र हिंसामा पर्ने गरेका उल्लेख गर्दै प्रतिबन्धमात्रै समस्याको समाधान नभएको बताउनुभयो । त्यस्ता मुलुकमा जान पूर्ण प्रतिबन्ध लगाउने वा सुरक्षित र वैधानिक माध्यमबाट जान पाउने व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद टुकाभद्रा हमालले विवाहको बहानामा विदेश पुर्‍याएर घरेलु काममा लगाउने तथा यौन हिंसाका कारण बच्चा जन्मिएपछि महिलालाई नेपाल फर्काउने घटनाहरू विद्यमान रहेको बताउनुभयो । त्यस्ता महिलाका सन्तानको संरक्षण र व्यवस्थापन सरकारले गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले हालै एक पीडित महिलासँग गरेको कुराकानी उल्लेख गर्दै ती महिला ११ ठाउँमा बेचिएकी, सातपटक गर्भपतन गराएकी र आठौँपटक गर्भवती हुँदा आमा र बच्चाको ज्यान जोखिममा परेपछि नेपाल फर्काइएकी घटना सुनाउनुभयो ।

सांसदहरूले घरेलु श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जान लगाइएको प्रतिबन्धले महिलालाई सुरक्षित र वैधानिक बाटोबाट जान नदिई अवैधानिक माध्यम अपनाउन बाध्य बनाएको धारणा राख्नुभयो । यसले उनीहरू थप जोखिममा परेको र पीडित महिलालाई आफ्नो पीडा सार्वजनिक गर्न तथा न्यायका लागि पहल गर्नसमेत कठिन भएको उहाँहरूको भनाइ थियो ।

सांसद शोभा खनालले मलेसियामा करिब एक लाख नेपाली अवैध रूपमा बसिरहेका जानकारी त्यहाँ रहेका नेपालीबाट पाएको बताउनुभयो । नेपालीकै संलग्नतामा राहदानी लिएर फिर्ता गर्ने र त्यसपछि कामदारलाई अवैध अवस्थामा पुर्‍याउने गरिएको उल्लेख गर्दै उहाँले त्यस्ता कामदारको आवतजावत र काम गर्ने स्वतन्त्रतासमेत नियन्त्रणमा रहने गरेको बताउनुभयो ।

सांसद रीना उप्रेतीले विदेशमा बेचबिखनमा परेका नेपालीको उद्धारमा नेपाली राजदूतावासको भूमिका र उद्धारको समयसीमा स्पष्ट हुनुपर्ने बताउनुभयो । मलेसियाबाट एक नेपालीको उद्धार गर्दा आफूले खर्च व्यहोर्नुपरेको अनुभव सुनाउँदै उहाँले उद्धार प्रक्रिया झन्झटिलो र खर्चिलो रहेको उल्लेख गर्नुभयो ।