श्रवण मुकारुङलाई तीन लाख राशिको पद्मश्री साहित्य पुरस्कार

अ+
अ
अ-

काठमाडौं । कवि तथा उपन्यासकार श्रवण मुकारुङलाई पद्मश्री साहित्य पुरस्कार–२०८२ प्रदान गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले मुकारुङलाई उनको उपन्यास ‘सलह’का लागि उक्त पुरस्कार प्रदान गरेको हो।

पुरस्कारको राशि तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको छ।

प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई प्रदान गर्दै आएको पद्मश्री साहित्य पुरस्कार यस वर्ष मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गरेको हो।

सन् २०२५ अर्थात् २०८२ सालमा प्रकाशित साहित्यिक कृतिमध्येबाट छनोट समितिले उक्त उपन्यासलाई पुरस्कारका लागि छनोट गरेको प्रतिष्ठानले जनाएको छ।

उपन्यास ‘सलह’ले नेपाली समाजका सीमान्तकृत समुदायका आवाज, सामाजिक विभेद, हिंसा, विस्थापन र पहिचानका सवाललाई साहित्यिक ढङ्गले प्रस्तुत गरेको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यको विकास, प्रवर्द्धन र उत्कृष्ट सिर्जनालाई सम्मान गर्ने उद्देश्यले पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।

यस वर्ष प्रतिष्ठानले वरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान र प्रा. डा. जयराज आचार्यलाई पद्मश्री गौरव पुरस्कारबाट सम्मानित गरेको छ।

दुवै सम्मानको राशि पनि जनही तीन लाख रुपैयाँ रहेको छ।

प्रतिष्ठानले आगामी वर्षदेखि पद्मश्री साहित्य पुरस्कारको राशि बढाएर चार लाख रुपैयाँ पुर्‍याउने घोषणा गरेको छ।