चार दशकपछि आमासँग भेटिए चोरी गरिएका सन्तान

Teresita de Jesus Padilla embraces her son, Travis Murdoch, as her other son, Tim Rolnick, watches during their first reunion in 41 years after the brothers were allegedly taken as infants and trafficked to the United States during Chile's dictatorship under General Augusto Pinochet, at the offices of the NGO Nos Buscamos in Santiago, Chile, Wednesday, Nov. 11, 2026. (AP Photo/Esteban Felix)
अ+
अ
अ-

चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याएर अवैध रूपमा अमेरिकाका परिवारलाई सुम्पिएका दुई दाजुभाइले ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन गरेका छन् । लामो समयदेखि सन्तान वियोगको पीडा भोगिरहनुभएकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः छोराहरूलाई अँगालो हाल्न पाउनुभएको हो ।

एकचालिस वर्षीय टिम रोलनिक र ३७ वर्षीय ट्राभिस मर्डोक अमेरिकामा हुर्किनुभएको थियो । आफूहरूलाई अर्को परिवारले हुर्काएको जानकारी भए पनि चिलीमा जन्म दिने आमाबाट कसरी छुट्याइएको थियो भन्ने उहाँहरूलाई थाहा थिएन ।

रोलनिकले सन् २०२० मा डीएनए परीक्षणमार्फत आफ्नो वास्तविक परिवार चिलीमा रहेको पत्ता लगाउनुभयो । त्यसपछि आफन्त र छुट्याइएका परिवारको पुनर्मिलनमा संलग्न संस्थाहरूको सहयोगमा उहाँले आफ्ना दुई भाइ पनि अमेरिकामै रहेको जानकारी पाउनुभयो । उहाँका जुम्ल्याहा भाइ ट्राभिस र क्रिसलाई पनि चार वर्षपछि आमाबाट अलग गरी अमेरिकी दम्पतीको जिम्मा लगाइएको रहेछ ।

तीनै दाजुभाइबीच सम्पर्क भएपछि घनिष्ठ सम्बन्ध स्थापित भयो । पहिलो सम्पर्क भएको छ वर्षपछि रोलनिक र ट्राभिसले चिली पुगेर आमालाई भेट्नुभयो । सन् २०१३ को सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका अर्का भाइ क्रिस भने स्वास्थ्य अवस्थाका कारण यात्रामा सहभागी हुन सक्नुभएन ।

चिलीको न्यायिक प्रतिवेदनअनुसार पिनोचेको १७ वर्षे शासनकालमा जबर्जस्ती वा आपराधिक रूपमा बालबालिकालाई अन्य परिवारको जिम्मा लगाइएका करिब २० हजार घटना भएका थिए । नागरिक संस्था ‘नोस बुस्कामोस’ का अनुसार यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्छ । गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध सञ्जालको मुख्य निशानामा पर्ने गरेका थिए । त्यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोले बताउनुभएको छ ।

पिनोचेको शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसलाई राजनीतिक कारणले यातना दिइएको वा जेलमा राखिएको थियो ।