सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श‘प्रिय कर्णाली’मा

अ+
अ
अ-

उपप्राध्यापक एवं पत्रकार राजेन्द्रप्रसाद धितालको कविता सङ्ग्रह ‘प्रिय कर्णाली’माथि विचारविमर्श भएको छ । इन्स्टिच्युट अफ लिबरल आर्टस् एण्ड मिडिया काठमाडौँद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा सङ्ग्रहका कवितामाथि समीक्षा गरिएको हो ।

कार्यक्रममा कर्णालीको ऐतिहासिक सभ्यता, पहिचान, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, सामाजिक यथार्थ र सामाजिक रूपान्तरण तथा जनजीवनलाई साहित्यका माध्यमबाट थप सशक्त रूपमा उजागर गरिएको सहभागीहरूले बताउनुभयो ।

साहित्यकार, समालोचक, निबन्धकार तथा त्रिभुवन विश्वविद्यालयकी पूर्वशिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले ‘प्रिय कर्णाली’मा प्रकृति, सामाजिक यथार्थ, राजनीतिक चेतना, वर्गीय विभेद र रूपान्तरणका विविध आयाम अभिव्यक्त भएको बताउनुभयो । उहाँले कवितामा प्रकृतिलाई जीवन र समाजको केन्द्र तथा मानवीय अनुभूति व्यक्त गर्ने बिम्ब र प्रतीकका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

कवितामा थोरै शब्दमा धेरै कुरा भन्न सक्ने क्षमता रहेको बताउँदै उहाँले त्यसका लागि बिम्ब र प्रतीकको प्रयोग महत्वपूर्ण हुने धारणा राख्नुभयो । परिचित परिवेश र जीवनका अनुभवबाट आएका बिम्बले कविताको भाव सम्प्रेषणलाई प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।

साहित्यका पूर्वस्रष्टाको विचारसँग असहमति राख्न सकिने भए पनि उनीहरूले साहित्य विकासमा पुर्‍याएको योगदानको सम्मान गर्नुपर्नेमा प्रा डा त्रिपाठीले जोड दिनुभयो । लक्ष्मीप्रसाद देवकोटा, भानुभक्त आचार्यलगायत स्रष्टाका सिर्जनालाई तत्कालीन सामाजिक तथा ऐतिहासिक सन्दर्भमा बुझ्नुपर्ने उहाँको सुझाव छ ।

सङ्ग्रहका कवितामा माक्र्सवादी दृष्टिकोण, राजनीतिक चेतना, मानवतावादी चिन्तन र सामाजिक रूपान्तरणका विषय आएको उल्लेख गर्दै उहाँले पुँजीवादी उपभोक्तावादी चिन्तन, श्रमिकमाथिको व्यवहार, सत्ताको चरित्र र सामाजिक असमानताप्रति कविले प्रश्न उठाएको बताउनुभयो ।

‘पार्वतीको विद्रोह’, ‘मजदुर दिवस’, ‘सङ्घर्षका गाथाहरू’, ‘इतिहासको अध्याय’ र ‘झोले’लगायतका कविताबारे चर्चा गर्दै उहाँले कवितामा प्रस्तुत विचार र वैचारिक पक्षलाई अझ स्पष्ट तथा विस्तृत बनाउन सकिने धारणा राख्नुभयो ।

अग्रज पत्रकार तथा लेखक धर्मेन्द्र झा (कवि धर्मेन्द्र विह्वल) ले ‘प्रिय कर्णाली’ले कर्णाली क्षेत्रको सामाजिक, सांस्कृतिक, ऐतिहासिक अवस्था, पहिचान र त्यहाँका नागरिकले भोग्दै आएका पीडालाई सशक्त रूपमा अभिव्यक्त गरेको बताउनुभयो । राजेन्द्रका कवितामा कर्णालीप्रतिको गहिरो माया, अपनत्व र सामाजिक चेतना अभिव्यक्त भएको उल्लेख गर्नुभयो ।

कर्णालीसँगको सम्बन्ध जन्मभूमिको सम्झनामा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले कविले कर्णालीलाई आफ्नो जीवन, पहिचान र अस्तित्वसँग जोडेको धारणा राख्नुभयो । उहाँले कवितामा कर्णालीको गरिबी र अभावसँगै ऐतिहासिक सभ्यता, संस्कृति, प्राकृतिक सम्पदा, जीवनशैली र नागरिकको आत्मसम्मान पनि अभिव्यक्त भएको बताउनुभयो ।

सङ्ग्रहका कवितामा २०४६ सालको जनआन्दोलनदेखि २०६२/६३ को आन्दोलनपछिका राजनीतिक तथा सामाजिक परिवर्तनका अपेक्षा, सहिदको योगदान र अधुरा सपना पनि प्रतिबिम्बित भएको लेखक झाले बताउनुभयो । कर्णालीको इतिहास, संस्कृति, भाषा, परम्परा र मूर्त तथा अमूर्त सम्पदामाथि थप अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

लेखक तथा प्राज्ञ डा मधुसूदन गिरीले कर्णाली क्षेत्रको ऐतिहासिक सभ्यता, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, जनजीवन र सङ्घर्षलाई साहित्य तथा कवितामार्फत जीवन्त रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । कर्णाली केवल भौगोलिक क्षेत्र मात्र नभई प्राचीन सभ्यता, इतिहास, संस्कृति र मानवीय अनुभूतिको महत्वपूर्ण स्रोत भएको उहाँको भनाइ थियो ।

विगतमा कर्णाली क्षेत्र तिब्बत र मध्यभारतबीचको व्यापारिक मार्गका रूपमा महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले घोडा, भेँडा, ऊन, सुन र जडीबुटीको व्यापारले त्यस क्षेत्रलाई आर्थिक रूपमा समृद्ध बनाएको उल्लेख गर्नुभयो । प्रस्तरकला, मन्दिर, देवल, वीरखम्बा लगायतका मूर्त सम्पदासँगै लोकगीत, लोकसंस्कृति, भाषा, परम्परा र जातीय जीवनशैलीको पनि गहिरो अध्ययन आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका उपसचिव उमाकान्त अधिकारीले राजेन्द्रप्रसाद धितालको बहुआयामिक व्यक्तित्व, साहित्यिक चेतना र दार्शनिक पक्षको चर्चा गर्नुभयो । उहाँले धितालको सिर्जनामा समन्वय, सहकार्य र चिन्तनको संयोजन रहेको उल्लेख गर्दै जन्मभूमिप्रतिको स्नेह, देशभक्ति र सहिदप्रतिको सम्मान अभिव्यक्त भएको बताउनुभयो । कर्णालीको सांस्कृतिक, सामाजिक तथा भाषिक इतिहास लेखिनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो ।

कार्यक्रममा कवि नरेन्द्र आचार्य, इन्दिरा शाह, चन्द्रप्रकाश बडुवाल, योगेन्द्र शाही र भीमबहादुर भारतीलगायतले आफ्ना कवितावाचन गर्नुभएको थियो । कविता सङ्ग्रहका सर्जक धितालले आफूले माक्र्सवादप्रति सम्मान व्यक्त गर्दै त्यसलाई आफ्ना कवितामा उतारेको बताउनुभयो । कार्यक्रममा प्राप्त आत्मीयता, स्नेह र भावनात्मक सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।