दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु सालकको क्यामेरा ट्रयापबाट अध्ययन–अनुसन्धान सुरु

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
अ+
अ
अ-

बाँके । दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु सालकको यहाँ अध्ययन तथा अनुसन्धान सुरु गरिएको छ ।

सालकको वास्तविक अवस्था पत्ता लगाइ संरक्षणका प्रभावकारी नीति निर्माण गर्ने उद्देश्यले साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेशनले ग्रीन अस्कार अवार्डको सहयोगमा सो अध्ययन सुरु गरेको हो । अनुसन्धानका क्रममा सालकको सम्भावित बासस्थान रहेका जिल्लाका वन क्षेत्रमा क्यामेरा ट्रयाप जडान गरी आवतजावत, अवस्था र गतिविधि अभिलेखीकरण गर्ने काम भइरहेको सालक विज्ञ डा तुल्सीलक्ष्मी सुदालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसन्धान टोलीले बाँके राष्ट्रिय निकुञ्ज आसपासका वन क्षेत्र, तारादेवी वन उपभोक्ता समूह, जनशक्ति वन उपभोक्ता समूह र बागिसाल वन उपभोक्ता समूहको क्षेत्रमा क्यामेरा जडान गरी अध्ययन गरिएको छ । “हामीले कतिपय सामुदायिक वनमा जाँदा प्रत्यक्ष नै सालकले आहार खोज्दै गरेको देख्न पायौँ”, सुदालले भन्नुभयो ।

उहाँका अनुसार सामुदायिक वनमा अध्ययनका लागि तीस र निकुञ्जमा २० वटा क्यामेरा जडान गरिएका छन् । अनुसन्धान कार्य गरिरहेको साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेशनका अनुसार नेपालमा सालकसम्बन्धी अध्ययन तथा अनुसन्धान सन् २००९ देखि सुरु भएको हो ।

नेपालमा इण्डियन र चाइनिज गरी दुई प्रजातिका सालक पाइन्छन् । कमिला र धमिरा खाएर आहाराको व्यवस्था गर्ने भएकाले सालकले वनको पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

एउटा वयस्क सालकले वर्षमा करिब सात करोडसम्म कमिला र धमिरा खाने अनुमान गरिएको छ । सालक विज्ञ सुदालले त्यसले वन क्षेत्रमा हानिकारक हुन सक्ने कीराको सङ्ख्या प्राकृतिक रूपमा नियन्त्रण गर्न सहयोग पुर्याउने बताउनुभयो । उहाँँले बासस्थान विनाश, चोरीसिकारी तथा अवैध व्यापारका कारण सालक संरक्षण चुनौतीपूर्ण बन्दै गएको जनाउँदै सालकको वास्तविक अवस्था र बासस्थान पहिचानका लागि वैज्ञानिक अध्ययन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

क्यामेरा ट्रयापबाट प्राप्त तस्बिर र तथ्याङ्कले सालकको उपस्थिति तथा गतिविधिबारे प्रमाणमा आधारित जानकारी उपलब्ध गराउने उहाँको भनाइ छ ।

साना स्तनधारी प्राणी संरक्षणकर्मी दिव्यराज दाहालले सालकले प्राकृतिक वातावरणको सन्तुलन कायम राख्न महत्त्वपूर्ण योगदान गर्ने भएकाले यसको संरक्षणमा विशेष ध्यान दिइएको उल्लेख गर्नुभयो । सालकको संरक्षणलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँको भनाइ छ । अनुसन्धानमा संलग्न त्रिचन्द्र क्याम्पसकी विद्यार्थी रमिला गुरुङले क्यामेरा ट्रयापबाट सालकसम्बन्धी अध्ययनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

निकुञ्जका अधिकृत विज्ञान वलीले विभागबाट अनुमति लिएर निकुञ्जको पूर्वी भागमा यसको अध्ययन भइरहेको बताउनुभयो ।