काभ्रे — काभ्रेपलाञ्चोकमा आगामी दिनमा भारी वर्षा हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। यसको प्रभाव काभ्रेपलाञ्चोक जिल्लामा समेत पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो।
जिल्ला प्रशासन कार्यालयले धानबाली काटेर खेतबाट उठाउन नसकेका किसानलाई सम्भव भएसम्म कात्तिक १२ गते शुक्रबारअघि नै सुरक्षित स्थानमा सार्न तथा वर्षाका कारण धानबालीमा क्षति हुन नदिन आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ। कात्तिक १२ गतेदेखि १४ गतेसम्म धान काट्ने कार्य नगर्नसमेत अनुरोध गरिएको छ।
त्यस्तै, अत्यावश्यक नभएसम्म यात्रा नगर्न र उच्च हिमाली भेगमा जाने योजना बनाएका व्यक्तिलाई यात्रा स्थगित गर्न प्रशासनले आग्रह गरेको छ। यात्रामा निस्कनैपर्ने अवस्था भएमा सुरक्षित स्थानमा बसी मौसमसम्बन्धी सूचना नियमित रूपमा लिनुपर्ने सूचनामा उल्लेख छ।
मौसमसम्बन्धी अद्यावधिक जानकारीका लागि नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान र चेतावनी पालना गर्न प्रशासनले अनुरोध गरेको छ


