काठमाडौँ। कवि तथा सञ्चारकर्मी मधु पाठकको नविनतम् कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित भएको छ ।
नेपाल स्रष्टा समाजद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा प्राडा लक्ष्मणप्रसाद गौतम,श्रीओम श्रेष्ठ ‘रोदन’,डा .नवराज लम्साल,पवन आलोक,डा.ज्ञानु अधिकारी र कवि पाठक लगायतले उक्त कृति लोकार्पण गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राडा लक्ष्मणप्रसाद गौतमले विचार,भावना र अनुभूतिले मात्र सुन्दर कविता जन्मिने बताए । राम्रा कविता वेदका मन्त्र जस्ता हुने भन्दै उनले पाठकको मस्तिष्क र ह्रृदयले काम पाएमात्र कविता राम्रा हुने कुरामा जोड दिए । ‘समकालीन कवितामा कवि पाठकको उपस्थिति संवेदना,प्रेम,करुणा,मातृत्व,करुवा, अनुभूति लगायतका पक्षहरुमा रहेको छ । धेरैजसो कविताहरु अनुभुतिपरक र संवेदनात्मक रहेका छन् ।’ उनले भने ।
कृतिमाथि चर्चा गर्दै चर्चित कवि डा. नवराज लम्सालले कविता लेख्नु गम्भीर विषय भएको बताए । उनले विचारको अभिव्यक्ति कविता भएको भन्दै अनुभूतिलाई बिम्ब मार्फत बाहिर पठाउने क्षमता कविमा हुने बताए । डा.लम्सालको ठोकुवा थियो, ‘ आजका कविता कमजोर छैनन् ।’ मधुका कविताहरु वलशाली बनेर आएको भन्दै उनले अगाडि भने, ‘मधुका कविताको हरेक हरफमा अलग कविता छ । संरचना,विषय,संगठन,अनुभूतिका हिसावले उनका कविता सुन्दर छन् । ‘ डा. लम्सालले नेपाली साहित्यमा देखिएका विकृतिहरुको वारेमा समेत चर्चा गरे ।
अर्का चर्चाकार डा. ज्ञानु अधिकारीले कवि पाठकका कविताले पाठकलाई सोचनीय बनाउँछ, संवेदित बनाएर सहभाव र समभावमा पुर्याउँछ मधुका कविताले समाजको आत्माको आवाज बोलेको बताइन । उनले अगाडि भनिन्, ‘ मधुले प्राकृतिक बिम्बद्धारा अमूर्त भावमा कविता सृजना गरेका छन् । उनका कविता शिर्षक नयाँ नभएपनि दृष्टिकोण नयाँ छ,अनुभूतिपरक छन् । कविले कवितामा आत्म प्र्रकाशन गरेका छन् ।’ मधुका कविताभित्र प्रेम,संवेदना प्रचुर रहेको पनि उनले बताइन ।
कार्यक्रममा पवन आलोक,ऋषभदेव घिमिरेले शुभकामना मन्तव्य राखे ।
कवि पाठकले आफ्ना अनुभुतिहरु साझा गरे ।
कार्यक्रमको अध्यक्ष समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले आज मधु पाठकको कविता कृतिको लोकार्पणको अवसरमा नेपाली कविता र साहित्यमाथि सुन्दर बहस भएको छ । कालान्तरमा यो नेपाली साहित्यको लागि महत्वपूर्ण कुरा हुने बताए । उनले आज नेपाली साहित्यमा विषद् परिचर्चा भएको कुरामा जोड दिए । ‘ सबै इतिहासलाई वर्तमान बनाएर वर्तमानमाथि अन्याय गर्न मिल्दैन् । इतिहास इतिहासकै रुपमा सम्मानित भएर रहनुपर्छ ।’ उनले अगाडि भने । श्रेष्ठले मधु पाठकका कविताहरु समकालीन कवितामा सुुन्दर रहेको पनि वताए ।
कार्यक्रममा कवि सुष्मा आचार्य अंशु,मणि लोहनी र ठाकुर वेलबासेले अग्नि- आलापभित्रका कविता वाचन गरे ।
नेपाल स्रष्टा समाजका सचिव प्रदीप सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा सदस्य शान्तिमाया गिरीले स्वागत मन्तव्य राखिन् ।


