पाकिस्तानमा मस्जिदमा बम विस्फोट हुँदा १५ जनाको मृत्यु, ५६ घाइते

In this photo taken with a smartphone, police officers secure a road leading to the site of a powerful bomb at a mosque in Kohat, Pakistan, Friday, Sept. 18, 2026. (AP Photo/B.S. Gillani)
+
-

उत्तरपश्चिमी पाकिस्तानको प्रहरी कार्यालयनजिकै रहेको मस्जिदमा शुक्रबार शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । प्रहरी तथा उद्धार अधिकारीका अनुसार सुरक्षा बलले लडाकुविरुद्ध कारबाही गरिरहेका बेला उक्त विस्फोट भएको हो ।

खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लामा भएको घटनामा विस्फोटक पदार्थले भरिएको एउटा गाडी मस्जिदमा ठोक्काइएको प्रान्तीय प्रहरी प्रमुख जुल्फिकार हमिदले बताउनुभएको छ ।

वरिष्ठ उद्धार अधिकारी बिलाल फैजीका अनुसार मृतकमध्ये पाँच प्रहरी र १० सर्वसाधारण छन् । घाइतेमध्ये अधिकांश नमाज पढ्न मस्जिद पुगेका व्यक्ति रहेको र केहीको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार कम्तीमा दुई बन्दुकधारीले प्रहरी परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूको प्रहरीसँग गोली हानाहान भएको बताइएको छ ।विस्फोटबाट प्रहरी कार्यालयको बाहिरी पर्खाल तथा मस्जिदमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दाका अनुसार विस्फोटको आवाज टाढासम्म सुनिएको थियो र त्यसलगत्तै गोली चलेको थियो ।

प्रधानमन्त्री शहबाज सरिफले घटनाको निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति सहानुभूति व्यक्त गर्नुभएको छ । उहाँले उद्धार कार्य तीव्र पार्न सम्बन्धित अधिकारीलाई निर्देशन दिनुभएको छ ।

आक्रमणको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । यद्यपि, घटनामा ’तेहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) अर्थात् पाकिस्तानी तालिबानको सङ्लग्नताको आशंका गरिएको छ ।

उत्तरपश्चिमी हाङ्गु जिल्लामा सुरक्षा बलको गाडीलाई लक्षित गरी सडक किनारमा राखिएको बम विस्फोट गराउँदा छ सैनिकको मृत्यु भएको भोलिपल्ट शुक्रबारको घटना भएको हो । सेना र प्रहरीका अनुसार बिहीबार विभिन्न क्षेत्रमा गरिएको कारबाहीमा पाकिस्तानी तालिबानका सदस्य मानिएका १० लडाकु मारिएका थिए ।

पछिल्ला वर्षमा टीटीपीले पाकिस्तानमा प्रहरी तथा सर्वसाधारणलाई लक्षित गरी आक्रमण गर्दै आएको छ । सन् २०२३ मा पेशावरस्थित एउटा मस्जिदमा भएको आत्मघाती बम विस्फोटमा १०१ जनाको मृत्यु भएको थियो ।

टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि उनीहरूबीच गठबन्धन रहेको बताइन्छ । अफगानिस्तानमा तालिबान सन् २०२१ मा सत्तामा फर्किएपछि पाकिस्तानले काबुलमाथि टीटीपीलाई आश्रय दिएको र सीमापारिबाट हुने आक्रमण रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै आएको छ । अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले भने पाकिस्तानका आरोप अस्वीकार गर्दै आएको छ ।
–––