काठमाडौ । जेन्जी आन्दोलनपछि बनेको सरकारले सडक सुधारका क्षेत्रमा थुप्रै काम अघि बढाएको सडक विभागका महानिर्देशकले बताएका छन्।
उनका अनुसार अघिल्लो सरकारको पालामा कमिसन लिने तथा सडक निर्माणका काममा विभिन्न बाधा–अवरोध सिर्जना गर्ने प्रवृत्तिका कारण धेरै सडक आयोजना समयमै सम्पन्न हुन सकेका थिएनन्।
विभिन्न कारणले काम पूरा हुन नसकी समय लम्बिँदै गएका १६० भन्दा बढी रुग्ण सडक आयोजनाका ठेक्का सम्झौता तोडिएको महानिर्देशकले बताउनुभयो ।
अझै पनि काम सुचारु हुन नसकेका अन्य थुप्रै सडक आयोजनाको ठेक्का सम्झौता समेत तोडिने अवस्था रहेको छ । सडक निर्माणलाई प्रभावकारी र समयमै सम्पन्न गर्ने गरी विभागले काम अघि बढाइरहेको छ ।
सडक विभागका अनुसार जेनजी आन्दोलनपछिको एक वर्षको अन्तरालमा काम अघि नबढाइएका वा समयमा पुरा नभएका करिब १६० वटा रुग्ण ठेक्का तोडिएका छन् ।
अहिले पनि सडक विभागले वर्षाैंदेखि अलपत्र हुँदै आइरहेका सडकका रुग्ण ठेक्काहरु तोड्ने काम जारी नै छ । सडक विभागका महानिर्देशक जैसीले एक वर्षको अवधिमा करिब १६० रुग्ण ठेक्का तोडिएको बताउनुभयो ।
रुग्ण ठेक्का मात्रै तोडिएका छैनन् । रुग्ण रहेका आयोजनाका ठेक्का लगाउने काम पनि प्राथमिकताका साथ भइरहेको सडक विभागले जनाएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल आफैँ पनि विभिन्न सडकको स्थलगत अध्ययन गरी सडकमा भएका समस्या समाधानको प्रयत्न पनि गर्दै आइरहनुभएको छ ।
“मन्त्रीज्यू आफैँले स्थलगत भ्रमण गरेर रुग्ण ठेक्का पहिचान गरी आवश्यक कारबाही पनि भएका छन्”, महानिर्देशक जैसीले भन्नुभयो, “सर्वसाधारणले सडक, पुललगायतका क्षेत्रमा भएका गुनासाहरुको पनि तत्कालै समाधान गर्ने प्रयास भइरहेको छ ।” सडक विभागका अनुसार धुलिखेल–खाबा र बालाजु सडक खण्डलगायतको ठेक्का तोडेर नयाँ बोलपत्र आह्वान भइसकेको छ । “अहिले सरकारले आफ्नै पूर्वाधार कम्पनी सञ्चालन गरी त्यसैमार्फत पनि काम अगाडि बढाइरहेको छ”, उहाँले भन्नुभयो ।


