काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले मतदाता सहभागिता वृद्धि गर्न राजनीतिक दलहरूको मुख्य भूमिका रहने बताएका छन्।
आज उज्यालो नेपाल पार्टीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले बदर मत घटाउन र मतदान गर्ने मतदाताको प्रतिशत बढाउन राजनीतिक दलहरूले विशेष पहल गर्नुपर्नेमा जोड दिएका हुन्।
कार्कीले विगतका निर्वाचनमा ५० देखि ६५ प्रतिशतसम्म मात्र मतदान हुने गरेको स्मरण गर्दै मतदातालाई मतदानप्रति आकर्षित गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए। यसका लागि राजनीतिक दलहरूले मतदाता शिक्षा, जनचेतना अभिवृद्धि र मतदानको महत्त्वबारे जानकारी फैलाउन भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्ने विषयमा पनि राजनीतिक दलहरूबीच छलफल भइरहेको उनले जानकारी दिए।
मतदानमा नागरिकको सहभागिता बढाउनु र बदर मतको संख्या घटाउनु निर्वाचन व्यवस्थापनका महत्त्वपूर्ण पक्ष भएकाले यसमा राजनीतिक दलहरू सक्रिय हुनुपर्नेमा प्रमुख निर्वाचन आयुक्त कार्कीले जोड दिएका छन्।


