प्रतिनिधिसभामा भोटेकोसी बाढीबारे सांसदहरूको ध्यानाकर्षण, उद्धार र राहतमा तदारुकता देखाउन सरकारसँग माग

अ+
अ
अ-

काठमाडौं । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भाद्र १० गते भोटेकोसी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। उनीहरूले बाढीबाट घाइते भएकाहरूको उपचारमा कुनै कसर बाँकी नराख्न तथा प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरे।

सभामुखमार्फत सांसदहरूले बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले बाढीका कारण विभिन्न जिल्लामा मृत्यु भएका तथा बेपत्ता भएका नागरिकको विवरणसमेत सदनमार्फत सरकारलाई जानकारी गराए।

सांसदहरूले अझै बेपत्ता रहेका नागरिकहरूको खोजी कार्यलाई तीव्र बनाउन, प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेका छन्।

उनीहरूले विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित नागरिकलाई तत्काल राहत र आवश्यक सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन्।

भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा अझै पनि उद्धार तथा खोजी कार्य जारी रहेकाले सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्नुपर्ने सांसदहरूको माग छ।