दलहरूको विभाजनकै कारण ‘बालेन्द्रतन्त्र’ स्थापित भयो : रामबहादुर थापा

+
-

काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक शक्तिहरूबीचको आन्तरिक तथा परस्पर विभाजनकै कारण मुलुकमा पटक–पटक लोकतान्त्रिक व्यवस्थामाथि चुनौती आएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बाेल्दै थापाले करिब आठ दशक लामो संघर्ष, त्याग, बलिदान र सहादतबाट प्राप्त उपलब्धिको मूल्याङ्कन गर्नुपर्ने बताए। उनले लोकतान्त्रिक दलहरूबीचको विभाजनकै कारण विगतमा ‘महेन्द्रतन्त्र’ र ‘ज्ञानेन्द्रतन्त्र’ स्थापित भएको र अहिले ‘बालेन्द्रतन्त्र’ स्थापित भएको टिप्पणी गरे।

उनले भने,“हेक्का रहोस्, यो सिसाको घर तपाईंहरूको रगत–पसिनाको जगमा उभिएको छ। जुन दिन लोकतान्त्रिक दलहरूले आफ्नो आन्तरिक विभाजनहरूलाई मजबुत मोर्चा र एकतामा परिणत गर्नेछन्, त्यसै दिन यो घर पनि गुलुम झल्लेछ, चकनाचुर हुनेछ,” थापाले भने।

थापाले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद्का विशेषताहरू पनि दिनप्रतिदिन उद्घाटित हुँदै गएको बताए। उनले वर्तमान व्यवस्थालाई ‘अनौठो लोकतन्त्र’ र ‘युनिक डेमोक्रेसी’का रूपमा चित्रण गर्दै यसका विभिन्न विशेषता क्रमशः देखिँदै गएको टिप्पणी गरे।