काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान, लोकतन्त्र र संघीय गणतन्त्रका उपलब्धिविरुद्ध अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता-कार्यकर्तालाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश कमिटीको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनताले प्राप्त गरेका अधिकार र राजनीतिक उपलब्धिमाथि प्रतिगामी तथा परिवर्तनविरोधी शक्तिबाट हमला भइरहेको दाबी गरे। उनले त्यस्ता गतिविधिको प्रतिवाद गर्न आवश्यक परे सडक संघर्षमा जानुपर्ने बताए।
‘परिवर्तनविरोधी शक्तिहरू सक्रिय हुनुअघि नै क्रान्तिकारी शक्तिहरूले प्रतिवादका लागि तयार रहनुपर्छ,’ प्रचण्डले भने।
उनले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रतिनिधित्वलगायत उपलब्धिको रक्षा गर्नु आफ्नो पार्टीको प्रमुख जिम्मेवारी भएको बताए। संविधानविपरीत गतिविधि र अभिव्यक्तिले मुलुकलाई दुर्घटनातर्फ लैजान सक्ने भन्दै उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत सचेत गराएका छन्।
देउवाको पछिल्लो ‘म हिन्दु हुँ’ भन्ने अभिव्यक्ति र कांग्रेस इतर समूहको निर्णयतर्फ संकेत गर्दै प्रचण्डले आफैँले निर्माण गरेको संविधानको मर्मविपरीत नजान आग्रह गरे।
बैठकमा वर्तमान सरकारमाथि भ्रष्टाचार, बेथिति र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरेको आरोप लगाउँदै प्रचण्डले सरकारका गतिविधिविरुद्ध जनस्तरबाट आवाज उठाउनुपर्ने बताए। उनले पार्टी छिट्टै आन्दोलनको कार्यक्रमसहित जनतामाझ जाने संकेत गर्दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए।
यसैबीच नेकपा एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बने पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्ति परिवर्तन नभएसम्म तत्काल पार्टी एकता सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे।
बैठकमा सहसंयोजक माधवकुमार नेपालले गणतन्त्र र लोकतन्त्र पक्षधर शक्तिबीच एकता आवश्यक रहेको बताए भने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यापक वामपन्थी सहकार्यका लागि नेकपाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

