काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको पछिल्लो नियुक्तिलाई लिएर सांसद भूमिका लिम्बुले प्रश्न उठाएकी छन्।
संघीय संसद्को बैठकमा बोल्दै सांसद भूमिकाले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन तथा उन्नयनका लागि स्थापित प्रज्ञा प्रतिष्ठानमा नियुक्त भएका कुलपतिको आचरण र सार्वजनिक छविमाथि प्रश्न उठाएकी हुन्।
उनले महिला तथा बालबालिकाप्रति असभ्य रूपमा प्रस्तुत भएको आरोप लागेका व्यक्तिलाई कला तथा संस्कृतिसँग सम्बन्धित महत्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्त गर्नु उचित नभएको बताइन्। यस्तो नियुक्तिले नेपालका महिला तथा संसद्मा रहेका ३५ प्रतिशत महिलाको समेत अपमान भएको उनको दाबी थियो।
सांसद लिम्बुले नियुक्तिको प्रक्रियामाथि समेत सरकारसँग जवाफ मागेकी छन्। उनले प्रज्ञा प्रतिष्ठानका लागि आवेदन दिने व्यक्तिहरू को-को थिए, आवेदनको प्रारम्भिक विवरण कहाँ छ र नियुक्तिका लागि कुन-कुन आधार तथा मापदण्ड तय गरिएको थियो भन्ने प्रश्न उठाइन्।
‘कस–कसले आवेदन दिएका थिए? प्रारम्भिक विवरण कहाँ छ? कुन आधारमा नियुक्ति गरियो?’ भन्दै उनले सरकारसँग नियुक्ति प्रक्रियाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरिन्।
नेपाल प्रज्ञा–प्रतिष्ठान भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित संस्था हो। सांसद भूमिकाले यस्तो संस्थाको नेतृत्व चयन गर्दा व्यक्तिको योग्यता, आचरण र प्रतिष्ठासमेत गम्भीर रूपमा विचार गर्नुपर्ने धारणा राखेकी छन्।
उनले पछिल्ला नियुक्तिले प्रज्ञा प्रतिष्ठानको विगतको गरिमामाथि समेत प्रश्न उठाएको बताउँदै पूर्वकुलपतिहरू माधवप्रसाद घिमिरे, बैरागी काइँला र केदारमान व्यथितजस्ता व्यक्तित्वहरूको योगदानको सम्मान हुनुपर्ने धारणा व्यक्त गरिन्।

