विदेशमा आफ्नै जग्गा, अझै भाडाकै भवनमा नेपाली नियोग

+
-

काठमाडौं । परराष्ट्र मन्त्रि शिशिर खनालले विदेशस्थित नेपाली नियोगका लागि वर्षौँअघि जग्गा खरिद गरिए पनि कतिपय स्थानमा अझैसम्म आफ्नै भवन निर्माण हुन सकेको प्रष्ट पारेका छन् ।

आज संसदकाे प्रश्नाेत्तरमा बाेल्दै इस्लामावाद, रियाद, कोलम्बो, क्वालालम्पुर, मस्कट, क्यानबेरा र बेइजिङलगायतका देशमा नेपाल सरकारको नाममा जग्गा खरिद गरिएको छ। तर भवन निर्माण नहुँदा नियोगहरूले भाडाका घर तथा अपार्टमेन्टबाट सेवा दिइरहेका छन्। महालेखा परीक्षकको ६२औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नियोगहरूको घर–अपार्टमेन्ट भाडामा मात्रै ९३ अरब ९३ लाख ९० हजार रुपैयाँ खर्च भएको बताएका छन् ।

परराष्ट्र मन्त्रीका अनुसार विदेशमा भवन निर्माणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा विगतमा प्रक्रिया अघि बढाउन कठिनाइ थियो। सार्वजनिक खरिदसम्बन्धी कानुनमा भएको पछिल्लो संशोधनपछि भने विदेशस्थित नेपाली नियोगका भवन निर्माणका लागि कानुनी आधार बनेको छ।

उनले सम्बन्धित देशको भवन संहिता र मापदण्डअनुसार प्रक्रिया अघि बढाइरहेको जनाए । रियादमा दूतावास भवन निर्माणका लागि आर्किटेक्चरल ड्रइङ, डिजाइन तथा इन्जिनियरिङ कार्यको परामर्शदाता छनोट प्रक्रिया अघि बढेको छ भने अन्य देशमा पनि भवन निर्माणको तयारी भइरहेको छ

मन्त्री खनाललाई नेपाली काङ्ग्रेसका सांसद निश्कल राइले प्रश्न गरेका थिए।