काठमाडौं । कीर्तिपुरमा हरेक वर्ष भदौ १ गते मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बाघभैरव जात्रा सोमबार धुमधामका साथ मनाइएको छ। बाघभैरवको मूर्ति स्थापना दिवसका अवसरमा जात्रा आयोजना गरिएको हो।
गोपालराज वंशावलीअनुसार कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयको पालामा नेपाल संवत् २१९ देखि २४६ को बीचमा भएको उल्लेख छ। कीर्तिपुर स्थापनासँगै बाघभैरवको पनि स्थापना भएको विश्वास गरिन्छ। बाघभैरवलाई स्थानीयवासीले कीर्तिपुरका रक्षक देवताका रूपमा समेत पुज्ने गरेका छन्।
किंवदन्तीअनुसार बाघभैरव रहेको स्थानमा पहिले जंगल थियो। गोठालाहरूले भेडाबाख्रा चराउने क्रममा माटोबाट बनेको जिब्रो नभएको बाघको मूर्ति भेट्टाएका थिए। त्यसपछि उक्त मूर्तिमा भैरवको शक्ति प्रकट भई बाघले भेडाबाख्रा तथा अन्य चौपाया खान थालेको जनविश्वास छ। यही कारण बाघभैरवको मूर्तिमा अहिलेसम्म जिब्रो नराखिएको किंवदन्ती छ।
संस्कृतिविद् डा. ब्रजमुनि बज्राचार्यका अनुसार पहिले होम तथा विशेष पूजाअनुष्ठानसहित जात्रा मनाइन्थ्यो। विसं २०१३ भदौदेखि भने बाघभैरवको खटजात्रा सुरु गरिएको हो।
बाघभैरव मन्दिरमा तीनवटा मूर्ति रहेको बताइन्छ। तीमध्ये करिब १२ इन्चको सानो मूर्तिलाई लक्ष्मी बुइगलमा लगेर राख्ने परम्परा छ। सोही मूर्तिलाई बाजागाजासहित चार जनाले खटमा बोकेर कीर्तिपुर नगर परिक्रमा गराउने गरिन्छ।
खटजात्रा बाघभैरव मन्दिरबाट सुरु भएर चिथु टोल, तननी, सिंह दबु, दे पुखु, गल्छेँ, ल्याकू हुँदै पुनः बाघभैरव मन्दिरमै पुगेर विसर्जन गरिन्छ। कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष इच्छाकुमार महर्जनका अनुसार यही मार्ग हुँदै जात्रा सञ्चालन गर्ने परम्परा छ।

