किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

+
-

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

यसअघि ३ दिनको म्याद पाएका श्रेष्ठमाथि अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले थप समय मागेको थियो। अदालतले सोमबार थप ४ दिनको अनुमति दिएको हो।

यसैबीच, श्रेष्ठको गिरफ्तारी गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुँदैछ। उक्त रिटको पेसी न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ।

श्रेष्ठलाई गत बुधबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुरमा अनुसन्धान भइरहेको जनाएको छ।