डि.पि.आत्रेय
श्रावण शुक्ल पञ्चमी प्रकृतिको एक जीव सर्पकाे पूजा गरि मनाउने चलन छ। नागपञ्चमी सनातन हिन्दू परम्पराको एक अत्यन्त प्राचीन, प्रकृति-पूजन र सांस्कृतिक पर्व हो। धार्मिक इतिहास अनुसार भगवान कृष्णले कालिया नागकाे दहन गरेपछि त्यही उत्सवमा मनाउन थालिएको भन्ने उल्लेख छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा नागदेवताको पूजा, आराधना तथा स्मरण गरिन्छ।
‘नाग’लाई केवल सर्पको रूपमा मात्र नहेरी सनातन परम्पराले भूमि, जल, उर्वरता, वर्षा, प्रकृति र अदृश्य जीवनशक्तिको प्रतीकका रूपमा पनि ग्रहण गरिएकाे छ। त्यसैले नागपञ्चमी मूलतः मानिस र प्रकृतिबीचको सहअस्तित्व, सम्मान र कृतज्ञताको भाव व्यक्त गर्ने दिन हो। नेपालमा यस दिन नागको चित्र घरको मूलद्वारमा टाँस्ने, पूजा गर्ने तथा नागदेवतासँग प्रकृति काे साथै परिवारको सुख, शान्ति र संरक्षणको कामना गर्ने परम्परा छ।
यस पर्वको ऐतिहासिकता अत्यन्त पुरानो वैदिक–पौराणिक परम्परासँग जोडिएको पाइन्छ। महाभारत, पुराणहरू तथा विभिन्न नागसम्बन्धी आख्यानहरूमा नागवंश र नागदेवताका प्रसङ्गहरू उल्लेखित छन्। शेषनाग, वासुकी, तक्षक, कर्कोटक, पद्म आदि नागहरूलाई सनातन साहित्यीक पुस्तकहरुमा उनीहरुको महत्व र प्रकृतिकाे पर्यावरणीय चक्रमा खेल्ने भूमिकाका बारे उल्लेख गरिएको छ। विशेषतः राजा परीक्षितको मृत्यु, जनमेजयको नागयज्ञ र आस्तिक ऋषिले नागवंशको संरक्षण गरेको नागपरम्परासँग जोडिएको प्रसिद्ध कथा शास्त्रमा पढ्न पाइन्छ। यसरी हेर्दा नागपञ्चमी केवल एउटा धार्मिक अनुष्ठान मात्रै नभई मानव सभ्यता, प्रकृति र जीव–जगत् बीचको पुरानो सम्बन्धलाई स्थापित गराउने सांस्कृतिक परम्परा पनि हो।
नागपञ्चमीको अर्को महत्वपूर्ण पक्ष जल र वर्षासँग यसको सम्बन्ध हो। श्रावण महिना वर्षा ऋतुको मध्यभागमा पर्ने भएकाले प्राचीन कृषिप्रधान समाजमा पानी, भूमिगत जलस्रोत, खेतबारी र उर्वरताको विशेष महत्व थियो। नागहरू भूमिगत स्थान, पोखरी, कुवा, नदी तथा जलाशयसँग सम्बन्धित मानिन्छन् । त्यसैले नागपूजामार्फत वर्षा पर्याप्त होस्, जमिन उर्वर बनोस्, अन्नबाली राम्रो होस् र प्राकृतिक विपत्तिबाट रक्षा होस् भन्ने सामूहिक कामना गर्ने गरिन्छ। यस दृष्टिले नागपञ्चमीलाई मानिसले प्रकृतिप्रति व्यक्त गरेको सम्मान र पर्यावरणीय चेतनाको एउटा प्राचीन सांस्कृतिक रूपमा समेत बुझ्न सकिन्छ।
आध्यात्मिक दृष्टिले नागपञ्चमीलाई अझ गहिरो अर्थमा बुझ्ने गरिन्छ । सनातन दर्शनमा कुण्डलिनी शक्तिलाई कुण्डली मारेको सर्पसँग प्रतीकात्मक रूपमा तुलना गरिन्छ। अर्थात् नाग केवल बाह्य जीव होइन, मानिसभित्र सुप्त अवस्थामा रहेको चेतना, शक्ति र आध्यात्मिक सम्भावनाको प्रतीकसमेत बन्न पुगेको छ। नागको पूजा गर्नाले भय, विष, क्रोध र विनाशकारी प्रवृत्तिलाई नियन्त्रण गरी त्यसलाई संरक्षण, जागरणमा रूपान्तरण गरिएको कथा कृष्ण लिलामा पढन् पाइन्छ । शास्त्र अनुसार यसले नागपञ्चमी नागको पूजा मात्र होइन,आफ्नै भित्र रहेकाे शक्ति, प्रकृति र जीवनप्रतिको प्रेरणा पनि हो ।
अन्ततः नागपञ्चमीलाई धर्म, संस्कृति, पर्यावरण, कृषि र आध्यात्मिक चेतनाको रूपमा बुझ्न सकिन्छ। आजको वैज्ञानिक युगमा यसको मर्मलाई गहिरिएर बुझ्नु आवश्यक छ । सर्पलाई अन्धविश्वासका कारण मार्ने होइन, मानव जीवन र जीवन चक्रिय प्रणालीलाई सम्मान गर्दै प्रकृतिकै पुजा गरिएको हो । परापुर्वकालदेखि चलि आएको हुनाले यो धार्मिक र साँस्कृतिक महत्त्वसँग जाेडिएकाे छ।
नागपञ्चमी वास्तवमा “नागको पूजा गर्नु त छँदै छ। “प्रकृतिमा रहेका प्रत्येक जीव र शक्तिको अस्तित्वलाई सम्मान गर, संरक्षण गर र मानवीय जीवन र प्रकृतिको सन्तुलित कायम गर भन्ने नै हो । यही कारणले हजारौँ वर्ष देखि चलि आएको यो पर्व धार्मिक आस्था मात्र नभई प्रकृति र जीवनप्रतिको प्रतीक हो ।

