इन्डोनेसियाको पूर्वी क्षेत्रमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामीको सम्भावना देखिएसँगै फ्लोरेस टापुसहित तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको छ।
इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार शनिबार बिहान स्थानीय समयअनुसार ५ः५८ बजे नुसा तेङ्गारा प्रान्तको नागेकेओ क्षेत्रमा भूकम्प गएको हो। भूकम्प करिब १५ किलोमिटर गहिराइमा गएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको थियो।
भूकम्पपछि पूर्वी नुसा तेङ्गारा, पश्चिम नुसा तेङ्गारा र दक्षिण सुलावेसीका केही क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको थियो। त्यसपछि सयौँदेखि हजारौँ मानिस सुरक्षित स्थान तथा अग्लो भूभागतर्फ पुगेका थिए।
भूकम्पका कारण केही भवन तथा घरमा क्षति पुगेको छ। विभिन्न क्षेत्रमा शक्तिशाली परकम्पसमेत महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रारम्भिक विवरणमा मानवीय क्षतिसमेत भएको उल्लेख छ।
बीएमकेजीले केही तटीय क्षेत्रमा एक मिटरभन्दा कम उचाइका साना सुनामी छाल रेकर्ड भएको जनाएको छ।
फ्लोरेस क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले संवेदनशील मानिन्छ। सन् १९९२ मा पनि फ्लोरेस क्षेत्रमा ७.७ म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसबाट ठूलो सुनामी आएको र हजारौँ मानिसको मृत्यु भएको थियो।


