काठमाडौं । नेपाल र भारतका प्रधान सेनापतिलाई एकअर्काको सेनामा मानार्थ महारथीको दर्ज्यानी दिने परम्परा अन्त्य गर्नुपर्ने माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय सेना प्रमुखलाई नेपालमा मानार्थ महारथीको सम्मान नदिन आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालले नेपालको भूमि कब्जा गरेको आरोप लगाउँदै भारतीय सेनाको नेतृत्वलाई सम्मान गर्नु उचित नभएको बताए। उनले नेपाल–भारतबीचको ऐतिहासिक सीमा, सुगौली सन्धि तथा गुमेको नेपाली भूभागको विषय उठाउँदै नेपालको सीमा विगतमा ब्रह्मपुत्रदेखि रावी नदीसम्म फैलिएको दाबी गरे।
नेपालले सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि नै भारतले नेपाली भूभाग कब्जा गरेको र सन् १९६२ देखि कालापानी क्षेत्रमा भारतीय सेना रहेको दाबी गरे। उनले सन् २०१९ मा जेनेभा पुगेर भारतीय अतिक्रमणबारे जानकारी गराएको उल्लेख गर्दै नेपालको ऐतिहासिक भूभागमाथिको दाबी निरन्तर कायम राख्नुपर्ने बताए।
उनले ‘ग्रेटर नेपाल’को नक्सा सार्वजनिक गर्ने कार्य महत्त्वपूर्ण भएको उल्लेख गर्दै ऐतिहासिक भूभागको विषयलाई राष्ट्रिय बहसमा ल्याउनुपर्ने धारणा राखे। भारतले नेपाली भूमि कब्जा गरेर बसेको अवस्थामा अगस्ट १५ को भारतीय स्वतन्त्रता दिवससमेत नेपालको भूभाग फिर्ताको विषयसँग जोडेर हेर्नुपर्ने उनको भनाइ थियो।
नेपालले आउँदो आइतबार नेपाल भ्रमणमा आउन लागेका भारतीय सेना प्रमुख धीरज सेठलाई राष्ट्रपतिको हातबाट मानार्थ महारथीको सम्मान दिन नहुने बताए । यस्तो सम्मानले नेपालको सैन्य तथा राष्ट्रिय सार्वभौमिकतामाथि प्रश्न उठ्ने दाबी गर्दै उनले नेपाल–भारतका प्रधान सेनापतिलाई एकअर्काको सेनामा मानार्थ महारथी बनाउने परम्परा अन्त्य गर्नुपर्ने माग दोहोर्याए।
उनले भारतीय स्थल सैन्य प्रमुखलाई महारथीको दर्ज्यानी दिएकै कारण इन्डियाली सेनालाईनेपाल छिर्न नेपालको अनुमति आवश्यक नपर्ने भन्ने गलत भाष्य सिर्जना भएको दाबीसमेत गरे । नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्वतन्त्र सैन्य अस्तित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले भारतीय सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने कार्यको विरोध गर्नुपर्ने बताए ।


