विश्व प्रेस परिषद् संघ( डब्लूएपीसि)ले वरिष्ठ नेपाली पत्रकार तथा सम्पादक किशोर श्रेष्ठको गिरफ्तारी तथा हिरासतमा राखिएको घटनाको कडा निन्दा गर्दै तत्काल र बिना सर्त रिहा गर्न माग गरेको छ।
नैरोबीमा बिहीबार, १३ अगस्ट २०२६ मा जारी विज्ञप्तिमा श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सम्पादक तथा प्रकाशक र डब्लूएपीसिका दोस्रो उपाध्यक्षसमेत रहेको उल्लेख गरेको छ।
नेपालबाट प्राप्त विवरणअनुसार श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवासबाट प्रहरी टोलीले कथित गोपनीयता कानुन उल्लंघनको आरोपमा पक्राउ गरेको हो। हाल उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा हिरासतमा राखिएको र पक्राउ गरेको केही घण्टापछि बिहीबार बिहान प्रहरीले उनको कार्यालयमा समेत छापा मारेको विज्ञप्तिमा उल्लेख छ।
संस्थाले आफ्ना एक पदाधिकारी तथा स्वतन्त्र पत्रकारलाई हिरासतमा राखिएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। गोपनीयता, शुद्धता, नैतिकता वा पत्रकारिताका अन्य पक्षसम्बन्धी वैध उजुरीलाई गम्भीरतापूर्वक लिनुपर्ने भए पनि त्यसको समाधान लोकतान्त्रिक समाजमा स्थापित कानुनी, न्यायिक तथा प्रेस नियमनका माध्यमबाट हुनुपर्ने भनाइ छ।
पत्रकार तथा सञ्चार संस्थाहरूले काठमाडौंमा श्रेष्ठको रिहाइको माग गर्दै गरेको प्रदर्शनले घटनाको गम्भीरता देखाएको पनि डब्लूएपीसिले जनाएको छ। यस्ता गिरफ्तारीले सञ्चार क्षेत्रमा डर र दबाब सिर्जना गर्न सक्ने भन्दै नेपाल सरकार तथा कानून कार्यान्वयन गर्ने निकायको तत्काल ध्यानाकर्षण हुनुपर्ने संघको भनाइ छ।
अध्यक्ष डेभिड ओमवोयोले पत्रकारले प्रकाशित गरेको सामग्रीका कारण हुने गिरफ्तारी स्वतन्त्र अभिव्यक्ति र स्वतन्त्र प्रेसप्रति प्रतिबद्ध प्रत्येक लोकतान्त्रिक मुलुकका लागि चिन्ताको विषय हुनुपर्ने बताएका छन्। उनका अनुसार पत्रकारितामा गोपनीयता र शुद्धताप्रति जिम्मेवारी हुन्छ, तर त्यसलाई स्थापित प्रक्रिया र व्यावसायिक तथा कानुनी संयन्त्रमार्फत सम्बोधन गरिनुपर्छ।
नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित सबै निकायलाई श्रेष्ठलाई निरन्तर हिरासतमा राख्नुपर्ने वैधानिक आधार नभए तत्काल रिहा गर्न, उनीविरुद्धको अनुसन्धान वा उजुरी पारदर्शी र निष्पक्ष ढंगले अघि बढाउन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको संवैधानिक संरक्षण गर्न र प्रकाशित सामग्रीसम्बन्धी विवाद समाधानका लागि स्थापित प्रेस काउन्सिल, मिडिया नियमन तथा न्यायिक संयन्त्र प्रयोग गर्न आग्रह गरेको छ।
त्यस्तै, वैधानिक पत्रकारिता तथा सम्पादकीय कार्य गरेकै कारण पत्रकारलाई धम्की, अनावश्यक हिरासत वा आपराधिक दबाबमा नपार्न र पत्रकारहरूले शक्तिमा रहेकाहरूका विषयमा निर्भीक रूपमा समाचार लेख्न, अनुसन्धान गर्न तथा प्रश्न उठाउन सक्ने वातावरण निर्माण गर्न आग्रह गरेको छ। डब्लूएपीसिले नेपालका पत्रकार तथा सञ्चार संस्थाले प्रेस स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता र जिम्मेवार पत्रकारिताका पक्षमा गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।


