अ+
अ
अ-
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क राईले वर्तमान लोकतान्त्रिक अभ्यासमा अराजकता मौलाएको आरोप लगाउँदै लोकतन्त्र र अराजकताबीच कुनै फरक नदेखिएको टिप्पणी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले संविधान र संसदीय नियमअनुसार संसदमा सांसदहरूको उपस्थिति सुनिश्चित हुन नसकेको भन्दै त्यसको प्रभावकारी नियमन गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप पनि लगाउनुभयो ।
सांसदहरूले सामाजिक सञ्जालमा खुलेआम गालीगलौज गर्दा पनि कारबाही नहुने, तर एक सर्वसाधारण नागरिकले अन्जानमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध टिप्पणी गर्दा पक्राउ गरी थुनामा पठाइने अवस्था समान न्यायको सिद्धान्तविपरीत भएको उहाँको भनाइ थियो । सांसद राईले आफूलाई केही सांसदहरूले ज्यान मार्ने र घर जलाइदिने धम्की दिएको दाबी गर्दै त्यसबारे साइबर ब्युरोमा उजुरी गरे पनि अहिलेसम्म कुनै कारबाही नभएको गुनासो गर्नुभयो ।“सत्ताको आडमा सांसदहरू कानुनभन्दा माथि हुने, तर सर्वसाधारण नागरिक भने सानो टिप्पणीकै आधारमा पक्राउ पर्ने अवस्था न्यायसंगत हुन सक्दैन,” उहाँले भन्नुभयो ।
त्यसैगरी, माइतीघर मण्डलामा आफ्ना माग राख्दै आन्दोलनरत दृष्टिबिहीन नागरिकहरूको विषय उठाउँदै सांसद राईले सरकारले उनीहरूको मागप्रति बेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले दृष्टिबिहीन नागरिकहरूको समस्या तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन सभामुखमार्फत आग्रह गर्नुभयो ।


