काठमाडौं । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ का सांसद बदनकुमार भण्डारीले अन्तरजातीय विवाह गरेका कारण ज्यान गुमाएका अजित मिजार का परिवारलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद भण्डारीले २०७३ साल असार २३ गते अन्तरजातीय विवाह गरेका अजित मिजारले अहिलेसम्म न्याय नपाएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न सरकारसँग आग्रह गर्नुभयो।
उहाँका अनुसार अन्तरजातीय विवाहपछि केटी पक्षका परिवारले उजुरी दिएपछि प्रहरीको मिलेमतोमा अजित मिजार र उनकी पत्नीलाई छुट्टाछुट्टै लगिएको थियो। त्यसको केही समयपछि धादिङको गजुरी क्षेत्रमा अजित मिजार मृत अवस्थामा फेला परेका थिए।
सांसद भण्डारीले प्रहरीले उक्त घटनालाई आत्महत्या भएको निष्कर्षमा पुर्याउने प्रयास गरेको आरोप लगाउँदै सामान्य स्वास्थ्य चौकीमा पोस्टमार्टम गरी शव गाडिएको र पछि निकालेर हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बेवारिसे अवस्थामा राखिएको बताउनुभयो।
उहाँले तत्कालीन समयमा विभिन्न दलित अधिकारकर्मी र मानवअधिकारकर्मीहरूले आवाज उठाए पनि मिजार परिवारले अझैसम्म न्याय प्राप्त गर्न नसकेको उल्लेख गर्नुभयो।
संसदमा बोल्दै सांसद भण्डारीले भन्नुभयो, “अजित मिजारको शवले आज पनि न्याय खोजिरहेको छ। पीडित परिवारले न्याय पाउनुपर्छ। उहाँका बुबाले अझै न्यायको प्रतीक्षा गरिरहनुभएको छ।”
उहाँले तत्कालीन अवस्थाका फोन कल र अन्य प्रमाणहरूले अजित मिजारलाई विभिन्न किसिमका धम्की दिइएको तथा घटनामा शंकास्पद पक्षहरू रहेको देखिए पनि प्रभावकारी अनुसन्धान हुन नसकेको दाबी गर्नुभयो।
सांसद भण्डारीका अनुसार अजित मिजारका बुबाले छोराको अनुहारसमेत हेर्न नपाएको गुनासो गर्दै दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान कायम राख्नुभएको छ।
सरकार र समय दुवै परिवर्तन भइसकेको उल्लेख गर्दै सांसद भण्डारीले अब ढिलाइ नगरी घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्नुभयो।


