अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इरानी तटीय क्षेत्रहरूमा रहेका अमेरिकी सैन्य स्थानहरूलाई लक्षित गरी प्रतिआक्रमण गरेको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार आईआरजीसीले उक्त कदम अमेरिकी आक्रमणको प्रतिक्रियास्वरूप चालिएको जनाएको हो।
यसैबीच, इरानको इस्लामिक परामर्शदात्री सभाका सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविरामप्रति प्रतिबद्ध नरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले वार्ताको प्रक्रिया जारी रहेकै बेला अमेरिकाले इरानमाथि पुनः आक्रमण गरेको दाबी गर्दै अमेरिकी राष्ट्रपति युद्धविराम वा कूटनीतिक समाधानप्रति गम्भीर नभएको टिप्पणी गरेका छन्।
उता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यदि इरानलाई समझदारीका बुँदाहरू (एमओयू) कार्यान्वयनको विषयमा कुनै असहमति भए त्यसलाई हिंसाको बाटो नभई संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्। उनले फोन वा अन्य कूटनीतिक माध्यमबाट विवाद समाधान गर्न सकिने उल्लेख गर्दै हिंसात्मक गतिविधिको उचित जवाफ दिइने चेतावनी पनि दिएका छन्।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल र लेबनानबीच भएको त्रिपक्षीय फ्रेमवर्क सम्झौतामा अमेरिकाको सहभागिताप्रति गर्व व्यक्त गरेका थिए। सामाजिक सञ्जाल एक्समा उनले उक्त सम्झौताले शान्ति, समृद्धि र आपसी सहअस्तित्वतर्फ महत्वपूर्ण आधार तयार गरेको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।
यता, आईआरजीसी र नियमित इरानी सेनाबीच समन्वय गर्ने खातम अल-अन्बिया सेन्ट्रल हेडक्वार्टरका आधिकारिक सैन्य प्रवक्ता इब्राहिम अल-फिकारले अमेरिकी आक्रमणको इरानले कडा र निर्णायक जवाफ दिने चेतावनी दिएका छन्।


