युरोपेली सङ्घ (इयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्दै उसलाई सङ्घको पहिलो ‘एसोसिएट सदस्य’ बनाउन प्रस्ताव गरेको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले बुधबार विद्यमान व्यापार सम्झौताभन्दा अघि बढेर क्यानाडासँग व्यापक साझेदारी निर्माण गर्न प्रस्ताव गर्नुभएको हो ।
स्ट्रासबर्गस्थित युरोपेली संसद्मा आफ्नो वार्षिक सम्बोधनका क्रममा उहाँले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग ‘भविष्यका लागि गठबन्धन’ निर्माण गर्न आह्वान गर्नुभयो । उहाँले क्यानाडा र युरोप लोकतन्त्र तथा समान मूल्यमा विश्वास गर्ने भएकाले सम्बन्धलाई सम्भव भएसम्म उच्च तहमा पुर्याउन चाहेको बताउनुभयो ।
प्रस्तावित साझेदारी विद्यमान व्यापक आर्थिक तथा व्यापार सम्झौता (सिइटिए) मा आधारित हुने तथा रक्षा उत्पादन, प्रविधि, आर्कटिक, ऊर्जा, महत्त्वपूर्ण खनिज, कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युटिङ, साइबर सुरक्षा र आर्थिक सुरक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गरिने भोन डेर लेयनले बताउनुभयो । “यो साझेदारी कसैको विरुद्धमा होइन, हाम्रो साझा शक्तिका लागि हो”, उहाँले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इयुको प्रस्तावप्रति असन्तुष्टि जनाउँदै क्यानाडालाई एसोसिएट सदस्य बनाउने प्रयास ‘शत्रुतापूर्ण कदम’ हुन सक्ने चेतावनी दिनुभएको छ । उहाँले त्यसको प्रतिक्रियामा युरोपेली सामानमा थप भारी शुल्क लगाउन सकिने बताउनुभएको छ ।
ट्रम्पका शुल्क नीति तथा क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउने विषयमा उहाँले व्यक्त गर्दै आउनुभएको धारणाले दुई उत्तर अमेरिकी मुलुकबीचको सम्बन्धमा तनाव बढेको छ । क्यानाडाले अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेको छ भने प्रधानमन्त्री कार्नीले इयुसँग थप निकट सम्बन्ध निर्माणमा जोड दिँदै आउनुभएको छ ।
इयुसँगको सम्बन्ध विस्तारलाई क्यानाडाले आफ्नो सार्वभौमसत्ता बलियो बनाउने माध्यमका रूपमा हेरेको छ । इयुका लागि क्यानाडाका नियुक्त राजदूत जोनाथन विल्किन्सनले क्यानाडाले पूर्ण सदस्यता नखोजी आफ्नो सार्वभौमसत्ता कायम राख्दै इयुसँग सकेसम्म निकट सम्बन्ध बनाउन चाहेको बताउनुभयो ।
क्यानाडा र इयुबीच प्रस्तावित एसोसिएट सदस्यताको स्वरूप, अधिकार तथा दायित्व भने अझै निश्चित भएको छैन । अक्टोबरमा हुने क्यानाडा–इयु शिखर सम्मेलनमा यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ । एसोसिएट सदस्यताको अवधारणा यसअघि युक्रेन र ब्रेक्जिटपछि बेलायतका सन्दर्भमा पनि उठे पनि अहिलेसम्म कुनै देशले यस्तो हैसियत पाएको छैन ।
क्यानाडा यसै वर्ष इयुको करिब एक खर्ब ५० अर्ब युरोको रक्षा कार्यक्रम ‘सेफ’ मा सहभागी हुने पहिलो गैरइयु देश बनेको छ । यसले रक्षा उद्योग तथा संयुक्त खरिदमा दुई पक्षबीच सहकार्य विस्तारको आधारसमेत तयार गरेको छ ।
प्रधानमन्त्री कार्नीले आर्थिक एकीकरणलाई केही देशले आफ्नो हितमा प्रयोग गर्न सक्ने अवस्था रहेकाले मध्यम शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । यसैबीच, ट्रम्पले बुधबार अमेरिकी सरकारको सङ्घीय खरिद प्रणालीमा क्यानाडाली सामानको प्रयोग सीमित गर्न निर्देशन दिनुभएको छ ।
प्रस्तावित नयाँ सम्बन्धले व्यापार र रक्षासँगै प्रविधि, ऊर्जा तथा महत्त्वपूर्ण खनिजजस्ता क्षेत्रमा क्यानाडा र इयुबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।


