डीआर कंगोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा

+
-

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले डीआर कंगोलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ।

बुधबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाको जितका लागि ड्यानियल मुनोजले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औँ मिनेटमा मुनोजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

खेलको अन्तिम समयमा डीआर कंगोले बराबरी गोलका लागि दबाब बनाए पनि सफल हुन सकेन। यस्तै, खेल सकिनै लाग्दा कोलम्बियाले थप दुई गोल गरे पनि दुवै अफसाइडका कारण मान्यता पाएनन्।

यो जितसँगै लगातार दोस्रो विजय हासिल गरेको कोलम्बियाले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान पक्का गरेको छ। पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो।

समूह ‘के’ मा पोर्चुगलले दुई खेलबाट ४ अंक जोडेको छ भने डीआर कंगोको १ अंक छ। उज्वेकिस्तान भने हालसम्म अंकविहीन रहेको छ।