समाचार
अबका ५ वर्ष प्रतिनिधी सभा सदस्य बदन कुमार भण्डारीले नगर्ने कार्यहरु सार्वजनिक

फागुन २४ आइतबार ,२०८२
काभ्रे २ प्रतिनिधी सभा सदस्य बदन कुमार भण्डारीले निम्न कार्यहरु नगर्ने प्रतिबद्दता व्यक्त गर्नु भएको छ। उहाँले सामाजिक संजाल मार्फत जनतालाई यस्तो कार्य नगर्ने बारे जानकारी दिनु भएको छ।
उहाँ लेख्नु हुन्छ अबकाे ५ वर्ष तपाईँहरुले र मैले नगर्ने कामहरु यी हुन ।
१. मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला ।
म गर्दिनँ ।
३. ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट बच्न सोर्स फोर्स लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
४. लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी तस्करी जस्ता कुनै पनि केसमा भनसुन वा त्यस्तै, कुनै पनि प्रकारको जरिवाना वा कानुनी कारबाहीबाट बचाइदिन पनि नभन्नु होला ।
म मान्दिनँ ।
५. महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिंसा वा ज्यादतीको केस थामथुम पार्न सहयोग नमाग्नु होला ।
म उल्टै खनिन्छु ।
६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी केस मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला ।
यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।
८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्रलोभनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।
म गर्दिनँ ।
९. सरकारी सेवा छिटो गराइदिन दबाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला ।
म गर्दिनँ ।
१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला ।
विकासको वितरण समानुपातिक ,योजनाबद्ध र समतामूलक हुनुपर्छ।
१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, दबाब दिन वा बदला लिन सहयोग नमाग्नु होला ।
म त्यस्तो राजनीतिमा छैन ।
१३. “मैले तपाईंलाई भोट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा अनिवार्य आउनु पर्छ नभन्नु होला । म समय मिले सम्म आउने छु ।
अन्य दुःखमा समय मिलाएर आफैँ आउँछु, बोलाउन पर्दैन ।
१४. सरकारी वा विकास योजनाको बजेट कमिसन लिएर बाँडफाँड गर्न, योजना टुक्र्याएर आफ्ना मान्छेलाई फाइदा पुग्ने गरी मिलाइदिन नभन्नु होला।
म यस्तो काम गर्दिनँ।
१५. कुनै सरकारी कर्मचारीलाई व्यक्तिगत कामका लागि दबाब दिन, सरुवा गराइदिन वा काम रोक्न लगाइदिन नभन्नु होला।
म हस्तक्षेप गर्दिनँ।
१६. सार्वजनिक जग्गा, वन, नदी, खोल्सा वा सामुदायिक सम्पत्ति कब्जा गर्न सहयोग नमाग्नु होला।
म त्यस्तो अन्यायको पक्षमा उभिन्नँ।
१७. नक्कली कागजात, झुटा सिफारिस, गलत प्रमाणपत्र बनाउन वा बनाइदिन सहयोग नमाग्नु होला।
म त्यस्तो काम मान्दिनँ।
१८. कुनै पनि सरकारी ठेक्का, अनुदान वा परियोजनामा दल, नातागोता वा चिनजानको आधारमा प्राथमिकता दिन नभनिदिनु होला।
म योग्यता र नियम मात्र हेर्छु।
१९. राजनीतिक प्रभाव प्रयोग गरेर कसैलाई डर धम्की दिन, मुद्दा दबाउन वा विरोधीलाई सताउन सहयोग नमाग्नु होला।
म लोकतान्त्रिक मूल्य मान्छु।
२०. सामाजिक सञ्जालमा झुटा प्रचार, चरित्र हत्या वा द्वेष फैलाउने अभियान चलाउन आग्रह नगर्नु होला।
म त्यस्तो राजनीतिमा विश्वास गर्दिनँ।
२१. कुनै पनि सार्वजनिक कार्यक्रममा अनावश्यक तडक भडक, महँगो स्वागत वा खर्चिलो कार्यक्रम नगर्नु होला।
म सादगीमा विश्वास गर्छु
२२. पार्टीको नाममा पैसा उठाउन, चन्दा असुल गर्न वा कसैलाई दबाब दिएर सहयोग लिन नभन्नु होला।
म पारदर्शी राजनीतिको पक्षमा छु।
२३. सरकारी पदको प्रभाव प्रयोग गरेर आफ्नो व्यापार, ठेक्का वा निजी लाभ बढाइदिन सहयोग नमाग्नु होला।
म पदलाई निजी स्वार्थका लागि प्रयोग गर्दिनँ।
२४. कुनै पनि जात, धर्म, क्षेत्र वा समुदायविरुद्ध विभाजनकारी राजनीति गर्न आग्रह नगर्नु होला।


