समाचार
काभ्रे–१ मा नेपाली काङ्ग्रेसबाट युवा उमेदवार गुणराज मोक्तान

माघ १० शनिबार ,२०८२
काभ्रेपलान्चोक । नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर १ का उमेदवार गुणराज मोक्तानले फागुन २१ गते हुने निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ। टुकी नेटवर्कसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।
नेपाली काङ्ग्रेस अब नयाँ आशा बाेकेर जनता माझ जान लागेकाे उहाँको तर्क छ। उहाँ भन्नुहुन्छ ,`अब काङ्ग्रेस जागेकाे छ। जेनजि आन्दोलनले काङ्ग्रेसमा उर्जा थपेकाे सत्य हो । नयाँ काङ्ग्रेस गाउँ छिरेकाे छ। यसले नागरिककाे आशामा मलजल गर्ने छ। ´
मोक्तान नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिका सचिवसमेत हुनुहुन्छ। काभ्रे क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। यो क्षेत्र नेपाली कांग्रेसका बागमती प्रदेश सरकारका पूर्व मन्त्री तथा सांसद तीर्थ लामाको निर्वाचन क्षेत्र हो।
उमेदवार मोक्तानलाई नेपाली कांग्रेस काभ्रेका एक सरल, शान्त स्वभावका तथा बौद्धिक नेताका रूपमा चिनिन्छ। निरन्तर कर्मशील रहँदै आएको उहाँ हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (PhD) अध्ययनरत हुनुहुन्छ भने भक्तपुरस्थित सानोठिमी क्याम्पसमा अध्यापन कार्यमा संलग्न हुनुहुन्छ।
यसैगरी, मोक्तान सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल (SMC Federation of Nepal) का अध्यक्षसमेत हुनुहुन्छ। २०७९/८० मा सम्पन्न अधिवेशनबाट अध्यक्षमा निर्वाचित भई हालसम्म महासंघको नेतृत्व गर्दै आउनुभएको छ।
