समाचार
विद्या र बुद्धिकी देवी सरस्वतीको पूजा आज देशभर श्रद्धा र भक्ति साथ पुजा

माघ ९ शुक्रबार ,२०८२
काठमाडौँ । आज विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको पूजा देशभर श्रद्धा, भक्ति र उत्साहका साथ पुजा भएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ।
विद्यालय, क्याम्पस, पुस्तकालय, मन्दिर तथा घर–घरमा सरस्वती देवीको पूजा गरी अक्षरारम्भ, कलम पूजन तथा शैक्षिक सामग्रीको पूजा गरिएको छ । विद्यार्थीहरूले आजको दिन नयाँ अक्षर लेखन, अध्ययन प्रारम्भ तथा सिर्जनात्मक कार्य सुरु गर्ने परम्परा रहेको छ।
सरस्वतीलाई श्वेत वस्त्रधारी, हातमा वीणा धारण गरेकी, कमल आसनमा विराजमान देवीका रूपमा पूजा गरिन्छ । धार्मिक विश्वासअनुसार सरस्वतीको कृपाले ज्ञान, विवेक, सृजनशीलता र वाणी शुद्ध हुने मान्यता छ।
आजका दिन शुभकार्य, अध्ययन आरम्भ तथा सांस्कृतिक गतिविधि सुरु गर्न उत्तम मानिने भएकाले विभिन्न शैक्षिक तथा सांस्कृतिक संस्थाहरूले विशेष कार्यक्रमसमेत आयोजना गरेका छन्।

