समाचार
आवासीय क्षेत्रमै आसपल प्लान्ट विरुद्ध स्थानीयको कडा विरोध, वातावरणीय संकटको चेतावनी

श्रावण १५, २०८२
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाको वडा नं. ८ अन्तर्गत आसपाल प्लान्ट स्थगन गर्न माग गर्दै स्थानीय बासिन्दाले नगरपालिका र सरोकारवाला निकायहरूलाई दबाब दिएका छन्।
बुधवार स्थानीयहरूबाट गठन गरिएको ‘वातावरण संरक्षण संघर्ष समिति’ ले औपचारिक रूपमा वडा कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै उक्त प्लान्ट तत्काल बन्द गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा स्पष्ट रूपमा भनिएको छ कि प्लान्ट सञ्चालनले स्थानीय बासिन्दाको जीवन, स्वास्थ्य, वातावरण र सामाजिक संरचनामा दीर्घकालीन र प्रतिकूल असर पारिरहेकाे छ।
मुख्य माग र चिन्ताहरू:
स्थानीयहरूले उठाएका प्रमुख चिन्ता निम्नानुसार छन्:
१. धूलो, धुवाँ र दुर्गन्धीयुक्त ग्यास:
प्लान्टबाट निस्कने धूलो तथा ग्यासले घरको वातावरणमा फोहोर, श्वासप्रश्वास समस्या, आँखा जल्ने र छालामा असर जस्ता समस्या उत्पन्न हुने उल्लेख गरिएको छ।
२. बालबालिका, वृद्धवृद्धा र बिरामी प्रभावित हुने:
खासगरी श्वासप्रश्वासमा समस्या भएका, सुत्केरी महिला, साना बच्चा र वृद्ध बासिन्दाहरूलाई प्रत्यक्ष असर पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
३. खानेपानी स्रोत तथा जमिन प्रदूषणको डर:
प्लान्टबाट निस्कने रसायनयुक्त तत्वहरूले नजिकै रहेको जमिन तथा पानीका स्रोतमा असर पार्न सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरिएको छ।
४. वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) बिना कार्यान्वयन:
कानुनी रूपमा अनिवार्य मानिने वातावरणीय प्रभाव मूल्याङ्कन (Environmental Impact Assessment) नगरी प्लान्ट सञ्चालन सुरु गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्।
५. वनक्षेत्रको क्षति र जैविक विविधतामा असर:
प्लान्ट निर्माण स्थल नजिकै रहेको जंगल तथा वन्यजन्तुको बासस्थानमा असर पर्ने जोखिम औँल्याउँदै त्यसले दीर्घकालीन पारिस्थितिक संकट निम्त्याउने चेतावनी दिइएको छ।
संघर्ष समितिको चेतावनी
वातावरण संरक्षण संघर्ष समितिले सो प्लान्ट तत्काल बन्द नगरिएमा शान्तिपूर्ण तर प्रभावकारी जनआन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। स्थानीय बासिन्दाहरूको नाममा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा भनिएको छ,
“हामीले पटक–पटक अपिल गर्दा पनि सुनुवाइ नभएमा हामी कानुनी अधिकारको प्रयोग गर्छौं र सशक्त जनआन्दोलनमा उत्रिनेछौं।”
ज्ञापनपत्र संयोजक संगिता लामाले हस्ताक्षर गरी पेस गरेकी छन्।
संघर्ष समितिको भनाइमा, यस्ता योजनाहरू स्थानीय बासिन्दा, समुदाय र सरोकारवाला निकायसँग परामर्श नगरी ल्याइनु गैरजिम्मेवार र खतरनाक हो।
ज्ञापनपत्र कहाँ–कहाँ बुझाइयो?
उक्त ज्ञापनपत्र निम्न कार्यालयहरूमा समेत पठाइएको छ:
पोशपाखा नगरपालिका, काभ्रेपलाञ्चोक
वडा नं. ८ कार्यालय
जिल्ला समन्वय समिति, काभ्रे
जिल्ला विकास कार्यालय
वाग्मती प्रदेशका सांसदहरू
संघीय सांसदहरू
वातावरण तथा वन मन्त्रालयसमेतलाई जानकारी गराइने बताइएको छ।