समाचार

राष्ट्रियस्तरको सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न

भुमिकला पौडेल
काठमाडौ । अष्ट्रेलियन एड, ह्याण्डिक्याप इन्टरनेशनल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, विश्व शिक्षा तथा वल्र्ड भिजन नेपालको संयुक्त साझेदारीमा सञ्चालित “समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना” को राष्ट्रियस्तरको सिकाइ आदानप्रदान कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । सिकाइ परियोजनाले हालसम्म गरेका कामहरू बारे जानकारी दिने उद्धेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो ।

सिकाइ परियोजना अपाङ्गता भएका बालबालिका तथा अतिजोखिममा परेका बालबालिकाहरूलाई शिक्षामा समावेशिकरण गर्ने उद्धेश्यले सन् २०२० देखि सर्लाही जिल्लाका ४ वटा स्थानीय तह (ब्रम्हपुरी, चन्द्रनगर र पर्सा गाउँपालिका तथा हरिपूर्वा नगरपालिका) मा सञ्चालन गरिएको हो । यस परियोजनाबाट सर्लाही जिल्लाका ५८ वटा सामुदायिक विद्यालय र २३ वटा मदरसामा अध्ययनरत तथा परियोजना सञ्चालित स्थानीय निकायभित्रका विद्यालय बाहिर रहेका अपाङ्गता भएका लगायत अन्य सिमान्तकृत बालबालिकाहरूलाई गुणस्तरिय शिक्षा प्रदान गर्न तथा शिक्षाको मूलधारमा समाहित गर्नका लागि सो परियोजनाले योगदान गरिरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित सचिव महेन्द्र महतोले परियोजनाले सर्लाही जिल्लामा सञ्चालन गरेका गतिविधिहरू धेरै राम्रा रहेका र सोही कारणले गर्दा जिल्लामा धेरै नै सकारात्मक परिवर्तन आएकोले बताउँनु भयो ।

त्यसैगरि अतिथि वक्ताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्जुन श्रेष्ठ, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक चन्द्रकान्त भुषाल तथा शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका योजना तथा कार्यक्रम शाखा अधिकृत किशोरी कापरले सिकाइ परियोजनाले सर्लाही जिल्लामा गरेका कामहरूको प्रशंसा गर्नुहुँदै यस्ता असल अभ्यासहरूलाई निरन्तरता दिनका लागि चुनौती रहेकोले यसको दिगोपनाका लागि सबै सरोकारवालाहरूले मिलेर काम गर्नु पर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा अष्ट्रेलिया राजदूतावासका वैदेशिक सहायता तथा वाणिज्य विभाग प्रतिनिधि, ह्याण्डिक्याप इन्टरनेशनल तथा विश्व शिक्षा नेपालका राष्ट्रिय निर्देशक, वल्र्ड भिजन नेपालका फिल्ड अपरेशन निर्देशक तथा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक लगायतका प्रतिनिधिहरूले कार्यक्रममा आ–आफ्नो धारणा राख्नुहुँदै सिकाइ परियोजनाले चारवटा स्थानीयतह मातहतका विद्यालय तथा मदरसामा अध्ययनरत लगायत विद्यालय बाहिर रहेका सबै सिमान्तकृत तथा अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षामा समावेशिकरण गर्न सफल भएको बताउनु भयो ।

कार्यक्रममा सिकाइ परियोजनाबाट लाभान्वित भएका बालबालिकाहरूले सिकाइ परियोजनाको कारणले गर्दा नै विद्यालय गएर अध्ययन गर्न पाइएकोमा अत्यन्तै हर्ष व्यक्त गर्नुभयो भने सिकाइ परियोजनाका प्रमुख सरोकारवाला निकायका प्रतिनिधिहरूले कार्यक्रमको सफलता तथा उपलव्धी बारे प्रकाश पार्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *