मंसिर , १७
काठमाडौं । कतारमा जारी विश्वकप अन्तर्गत शनिवार भएको अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले हराउँदै नेदरल्याण्ड्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काएका थिए ।
दाेहास्थित खालिफा इन्टरनेशनल स्टेडियममा भएको खेलमा खेलको दशौँ मिनेटमा मेम्फिस डिपाएले डेन्जल डमफ्राइसको पासमा गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए
पहिलो हाफको इन्जुरी टाइममा डाले ब्लिन्डले पेनाल्टी बक्सबाट डमफ्राइसकै पासमा गोल गर्दै नेदरल्याण्ड्सको अग्रता दोब्बर पारे । ४९औं मिनेटमा अमेरिका गोल नजिक पुगेको थियो । तर रियमको प्रहार नेदरल्याण्ड्सका गाक्पोले गोल लाइनबाट बचाएको थियो ।
८३औं मिनेटमा डिपाएको स्थानमा मैदान प्रवेश गर्दै युवा स्टार जाभी सिमोन्सले नेदरल्याण्ड्सका लागि डेब्यु गरे।नेदरल्याण्ड्सले अब आजै राती हुने अर्जेन्टिना र अष्ट्रेलियाबीच खेलको विजेतासँग पहिलो क्वाटरफाइनल खेल्नेछ ।


