समाचार
दशैंमा उपत्यका छोड्ने क्रम बढ्दो, चेकजाँचमा कडाई

काठमाडौं
दशैंका लागि उपत्यकाबाट यात्रुहरु बाहिरिने क्रम जारी छ। लगभग सात लाख जनाले उपत्यका छोडिसकेको काठमाडौं ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
हिजो शनिबार र आज आइतबार उपत्यका छाड्नेको ठूलो भिड लागेको छ। काठमाडौंबाट मानिस बाहिरिएसंगै आइतबार र सोमबार उपत्यकामा सवारी जाम कम हुने छ।
ठूला राजमार्गहरुमा सवारी आवतजावतका क्रममा लामो जाम परेका छन् । जाम कम गर्नका लागि प्रहरीले टिपर र ठूला गाडीहरुलाई रातिको निश्चित समय तोकेको छ ।
दसैंलाई लक्षित गरी ट्राफिक प्रहरीले विशेष चेकजाँच शुरु गरेको छ । यात्रुबाहक गाडीमा दुईवटा चालक राखेको नराखेको र यात्रुहरूको अवस्थालाई मध्यनजर गर्दै ,यात्रु ठगिनबाट जोगाउन पनि ट्राफिक प्रहरीले विशेष निगरानी राखेको छ।
यस्तै उपत्यकामा सवारी साधन कम हुने र सडक खालि हुदाँ गति तीव्र हुने भएकाले दुर्घटना हुने सम्भावना बढ्दो छ । त्यसलाई मध्यनजर गर्दै मापासे र लागुपदार्थ सेवनमा कडा चेकजाँच सुरु गरिएको काठमाडौँ ट्राफिक प्रहरी कार्यालयका एसपी अवदेश विष्टले बताउनुभयो।
