च्छो-रोल्पामा दुर्लभ हिउँचितुवा देखियो

अ+
अ
अ-

दोलखा : गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने दोलखाको गौरीशंकर गाउँपालिकास्थित च्छो-रोल्पा हिमतालमा दुर्लभ हिँउ चितुवा देखा परेको छ। गाउँपालिका-९ स्थित रोल्वालिङ उपत्यकामा संचालित क्यामेरा ट्रयापिङबाट उक्त उपत्यकाको च्छो–रोल्पा हिमताल क्षेत्रमा हिउँ चितुवा रहेको प्रमाण फेला परेको हो। स्वचालित क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ साल असार १५ गते, भदौ २२ गते र भदौ २६ गते गरि तीन पटक वयस्क हिउँ चितुवाको तस्बिर खिचेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए। उनले एउटै हिउँचितुवा दुई वा दुईभन्दा बढी समय एकै स्थानमा देखिनुले उक्त स्थानलाई हिँउचितुवाले खाइखेली हिँड्ने ठाउँको रुपमा प्रयोग गरेको हुन सक्ने बताए।